
दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौंमा चिसो शुरू भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्को माग घटेको हो ।
तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरूमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरूबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ ।
प्राधिकरण, यसका सहायक कम्पनीहरू र नीजी क्षेत्र क्षेत्रका जलविद्युत आयोजनाहरूबाट हाल दैनिकरूपमा करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको छ भने करिब साढे ६ सयदेखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक ५ सय मेगावाट हाराहारीमा विद्युत् खेर फाल्नु पर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।
‘दशैंका कारण आन्तरिक रूपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३ सय मेगावाट विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ, यसबाट दैनिक करौंडौं रुपैयाँ गुमाइरहेका छौं,' कार्यकारी निर्देशक घिसिङले भने, ‘प्रक्रियामा रहेकाले छिट्टै थपविद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं, स्वीकृति नपाउने हो भने अझै विद्युत् खेर फाल्नु पर्ने अवस्था छ ।’
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत् र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौता बमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगमलि–एनभीभीएनलाई बिक्री गरिरहेको छ ।
एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।
तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।
दशैंमा विना अवरोध विद्युत् आपूर्ति
नेपाल विद्युत प्राधिकरणले यस वर्षको दशैंमा विनाअवरोध विद्युत् आपूर्ति गरेको छ । यसवर्ष पनि पहाडी भेगका केही स्थानमा फाट्फुट्टबाहेक दशैंमा विगत वर्षमाझै विना अवरोध विद्युत् आपूर्ति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘दशैंमा विद्युत् प्रणाली नियमित (स्मुथ) रूपमा चल्यो, कहीं कतै अवरोध भई विद्युत् आपूर्ति बन्द भएन’, घिसिङले भने ।
प्राधिकरणले दशैंमा विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीहरूलाई तयारी अवस्थामा राखेको थियो ।