
बंगलादेशविरुद्ध १४९ रनको फराकिलो जीत निकाल्दै दक्षिण अफ्रिका एकदिवसीय विश्वकपको दोस्रो स्थानमा उक्लिएको छ ।
पाँच खेलबाट आठ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदा समान अंकको न्युजिल्यान्ड तेस्रो स्थानमा झरेको छ । समान खेलबाट शतप्रतिशत जीत निकालेको आयोजक भारत अंक तालिकाको शीर्ष स्थानमा छ । दुई अंक मात्र जोडेको बंगलादेश पुछारमा छ ।
मंगलवार दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४६.४ ओभरमा सबै विकेट गुमाएर मात्र २३३ रन बनाउन सक्यो ।
हारसँगै बंगलादेशका महमुदिल्लाहको सतक छाँयामा परेको छ । उनले १११ बलमा १११ रन नै बनाएका थिए । यसबाहेक बंगलादेशका कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन् ।
दक्षिण अफ्रिका लागि जेराल्ड कोट्जीले सर्वाधिक तीन विकेट लिए ।
मुम्बईको वाङ्खडे रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३८२ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि क्लिन्टन डे ककले शतकीय पारी खेल्दै सर्वाधिक १७४ रन जोडे । यो क्रममा उनले केही कीर्तिमानसमेत बनाए ।
यस्तै हेनरिच क्लासनले अर्धशतकसहित अविजित ९० रन जोडे ।
यसैगरी एइडेन मार्करमले अर्धशतकीय पारी खेल्दै ६० तथा डेभिड मिल्नरले अविजित ३४ रन बनाए ।
बंगलादेशका हसन महमुदले सर्वाधिक दुई विकेट लिए ।