
खजुरा– दुर्गा मूर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । हिन्दूहरूको महान् चाड दशैंको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरू धार्मिक र्याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि बुधवार एकदिन जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
उनले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमापारिका सुरक्षा अधिकारीसँगको समन्वयमा आज राति ८ बजेसम्म (मूर्ति विसर्जनको कार्य नसकिएसम्म)का लागि उक्त नाका बन्द गरिएको बताए । प्रजिअ पोखरेलका अनुसार एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायत ढुवानी गर्ने अत्यावश्यक सवारी साधनबाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।
नेपालगञ्जका सडकहरूमा अहिले दुर्गा मूर्ति सेलाउन तालतलैया, जलकुण्ड तथा नदीतर्फ लैजाने कार्य धुमधामसँग भइरहेको छ । नेपालगञ्जका सडकहरूमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्रयाक्टरसहितको धार्मिक र्याली निस्किएको छ ।
मूर्ति विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाभरि नै सुरक्षा व्यवस्था मिलाइएको बाँकेका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहराले बताए ।
उद्धार टोली परिचालन
यसैगरी सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको अगैया र राप्ती नदी सिधनिया घाटमा पूर्व तयारीका लागि उद्धार टोली खटिएका छन् । दुर्गा मूर्ति विसर्जनलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन दुवै घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रजिअ पोखरेलले जानकारी दिए ।
उनका अनुसार कतिपय ठाउँहरुमा दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता हुने तथा ज्यानसमेत जाने घटनाहरु घटिरहेको हुँदा सर्वसाधारणलाई नदीबाट हुने सम्भावित दुर्घटनाबाट बचाउन गोताखोरसहितको टोली परिचालन गरिएको हो ।