
संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस नेपाल आउने भएका छन् । यसको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका हुन् ।
बिहीवार दिउँसो रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले दिएको निम्तो स्वीकार्दै यूएनका महासचिव नेपाल आउन लागेको खुलासा गरे ।
‘राष्ट्रसंघको महासभामा जाँदा मैले त्यसका महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको थिएँ । जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस् भनेको थिएँ,’ उनले भने, ‘मेरो निम्तो स्वीकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ । यसले विश्वको ध्यान नेपालमा खिच्नेछ । यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो ।’
साथै कतारका राजा तमिम बिन हमाद अल थानी पनि नेपाल आउँदै गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।
‘कतारका राजा पनि नेपाल आउँदै हुनुहुन्छ । हामीले वैदेशिक लगानीलाई व्यवस्थित गर्न उहाँलाई निमन्त्रणा गरेका छौं,’ उनले भने, ‘कतार उदीयमान मुलुक हो । उ नेपालमा लगानी गर्न इच्छुक छ । यसका लागि हामीले सकारात्मक पहल गरेका छौं ।’
उनीहरू कहिले नेपाल आउँदैछन् भन्ने चाहिँ प्रधानमन्त्रीले खुलाएनन् ।