
काठमाडौं ८ असोज– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेकोमा आपत्ति जनाएको छ ।
निर्वाचन आयोगको निर्देशनको अवज्ञा गर्दै कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनकै बीचमा मन्त्रिपरिषद् विस्तार गरेको भन्दै एमालेले आपत्ति जनाएको हो।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा लोकतान्त्रिक मूल्यमान्यता र जनअपेक्षा विपरीत निर्वाचनलाई प्रभावित गर्ने र राष्ट्रिय ढुकुटी दोहन गर्ने गरी मन्त्रिपरिषद्को विस्तार गरेर ५६ सदस्य पु¥याएको भन्दै एमाले केन्द्रीय समिति बैठकले आपत्ति जनाएको हो ।
‘अमेरिका भ्रमणका दौरानमा प्रधानमन्त्रीले यसलाई उचित ठह¥याउँदै मन्त्रिपरिषद् अझ विस्तार हुन सक्ने भनी दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछ’ सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै एमालेले प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नेपालको व्यवस्थापिका–संसद र नेपाली जनताको सार्वभौमिकतालाई होच्याउने गरी संविधान संशोधनको प्रसंगमा दिएको मन्तव्यप्रति खेद प्रकट गरेको छ । ‘उहाँले संयुक्त वक्तव्यमा नेपालको संविधान अनुसारको स्वतन्त्र परराष्ट्र नीतिमा आँच पु-याउने, राष्ट्रिय योजना आयोगलाई भारतीय नीति आयोगको प्रभावमा पार्ने, नेपाली सेना र सुरक्षा प्रणालीमा समेत वाह्य संलग्नता निम्त्याउने, कुनै अध्ययन र प्रक्रिया बिना नेपालमा भारतलाई ग्यास पाइप लाइन ओछ्याउन दिने, पूर्वका ११ जिल्ला डुब्ने गरी नेपालको हित विपरीत कोशी उच्च बाँध बनाउने, पञ्चेश्वर जलविद्युत परियोजनाबाट उत्पादन हुनुपर्ने विद्युत पूर्वसहमति विपरीत घटाउने जस्ता सहमति गरेकोमा यो बैठक आपत्ति प्रकट गर्दछ’ एमाले विज्ञप्तिमा भनिएको छ ।