काठमाडौं, ८ असोज—एनआईसी एशिया बैंकले दशैं, तिहार तथा छठको अवसर पारेर नेपालमै पहिलो पटक घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ । ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना ल्याइएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।

सो योजना अन्तर्गत सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराईने तथा ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ दिन भित्रै घरकर्जा सम्बन्धि निर्णय भैसक्ने व्यवस्था गरिएको छ ।
योजना अन्तर्गत घर कर्जा लिंदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचना लगायतका कुनै पनि दस्तुर तथा शुल्क नलाग्ने पनि बैंकले जनाएको छ ।
साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा एकडब्लुएपी गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन नगरिने बैंकले स्पष्ट पारेको छ ।
कर्जाका लागि अनलाइनबाटै कर्जाको Eligibility रकम जाँच गरी आवेदन दिन सकिने र सो योजनामा किस्ता वा ब्याजमात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुची र आवश्यकता अनुसार ओभरड्राफ्ट कर्जा प्रदान गरिनेछ ।
बैंकबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै सम्मको अवधि हुने व्यवस्था गरिएको छ । यस बाहेक सवारी साधनकर्जाको लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्क नलिई सवारी साधनकर्जा उपलब्ध गराइने बैंकले स्पष्ट पारेको छ ।
यस प्रकारको होम लोन प्रोडक्ट जारी गर्ने एन आई सी एशिया बैंक देशकै पहिलो र एक मात्र वाणिज्य बैंक भएको र यसबाट हजारौंको संख्यामा ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
‘साथीको साथ पाएपछि यसपालिको दशैंतिहारमा पूरा हुनेछ यहाँको आफ्नै घर वा जग्गा वा गाडीजोड्ने सपना’ भन्ने मूलनाराका साथ यो योजना ल्याइएको बताइएको छ ।