२६ जेठ २०८३, मंगलबार

महोत्तरीमा ५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या, २ जना पक्राउ

कात्तिक १०, २०८०
महोत्तरी
महोत्तरीमा ५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या, २ जना पक्राउ
फाइल फोटो

महोत्तरीको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा ५० रुपैयाँको सिक्रीका लागि एक युवकको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको दुई जना साथीले छुरा हानेर बिहीवार हत्या गरेका हुन् ।​

बुधवार राति गाउँमै लागेको दशैं मेला हेर्न गएका वसन्तले मेलामा ५० रुपैयाँमा एउटा सिक्री किनेका थिए ।

सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए । तर फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र पछि दीपक र अर्का साथी अमित मल्लिक मिलेर वसन्तलाई छुरा हानेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले हत्या गरेको आरोपमा वसन्तका साथीहरू भारतको विहार राज्यको मधुवनी जिल्लाको जयनगर बस्ने १९ वर्षीय दीपक मल्लिक र उनका भाइ नाता पर्ने सोही जिल्लाको साहरघाट बसबरिया बस्ने १८ वर्षीय अमित मल्लिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेको छ । 

दीपक र अमित दुवै जना पिपरा गाउँपालिका–५ बस्ने मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए । मामाघर बस्दै आएका  बेला सोही गाउँका वसन्तसँग मित्रता भएको थियो । ​

बिहीवार राति एक स्थानीय जगदीश साहको खेतमा वसन्तको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक गिरीको नेतृत्वमा खटिगएको प्रहरी टोलीले हत्याको आरोपमा मामाघरमा लुकेर बसेका दीपक र अमितलाई पक्राउ गरेको थियो ।

हत्या गर्न प्रयोग गरिएको छुरा र रगत लत्‌पतिएको उनीहरूको कपडा पनि प्रहरीले बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्