
जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित दृश्या होटलमा जुवातास खेलिरहेको अवस्थामा झविन्द्र सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख १२ हजार रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित खाली टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल बडायक समेत १२ जनालाई पनि शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद १ लाख १ हजार ३ सय ६५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
मोरङको सुन्दरहरैचा नगरपालिका-१० बिराटचोक बस्ने ३७ वर्षीय सुशिल कुमार काफ्लेको घरमा जुवातास खेलिरहेको अवस्थामा काफ्ले समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ५१ हजार २ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।