
मिथिलाञ्चलको महामहोत्सव विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान् रामजानकीको मूर्ति निर्माण गरेर विश्व किर्तीमान कायम गर्ने कार्य थालनी भएको छ ।
विवाहपञ्चमी महामहोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि यो शुभकार्य गर्न लागिएको बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले बताए। अध्यक्ष साहले ७० क्विन्टल अन्न अनाजबाट मूर्ति निर्माण हुने बताए ।
भारत उत्तरप्रदेशको अयोध्यामा १० हजार आठ सय स्क्वायर फिटको अन्नबाट मूर्ति बनाएर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता भएको भन्दै विवाह पञ्चमीमा जनकपुरधाममा ११ हजार स्क्वायर फिटमा सो मूर्ति बनाएर विश्व रेकर्ड बनाई विवाह पञ्चमीलाई अन्तर्राष्ट्रिय करण गरिने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।
सो मूर्ति निर्माण भएपछि वल्र्ड रेकर्डका लागि दाबी गर्ने नगरप्रमुख साहले बताए। अन्नबाट राम–सीता स्वयम्वरको मूर्ति बनाइने निर्णय भएको साहले जानकारी दिए ।
नगरप्रमुख साहले भने, “मूर्ति बनाउन अन्नको मात्र प्रयोग हुन्छ । मूर्तिका लागि कुनै रङ प्रयोग हुनेछैन । जहाँ जुन रङको आवश्यकता पर्छ, सोही रङको अन्न प्रयोग गरिन्छ ।” सो मूर्ति बनाउन ७० क्विन्टल अन्न लाग्ने अनुमान गरिएको छ भने मूर्ति बनाउन प्रयोग गरिएको अन्न फेरि प्रयोगमा ल्याइने बताइएको छ ।