२५ जेठ २०८३, सोमबार
बिजुली बसको बिजोग

चलेर होइन, घाम तापेरै थोत्रिए लुम्बिनीका विद्युतीय बस, मन्त्रिपरिषद्को निर्णय नै अलपत्र

कात्तिक १२, २०८०
बुटवल
चलेर होइन, घाम तापेरै थोत्रिए लुम्बिनीका विद्युतीय बस, मन्त्रिपरिषद्को निर्णय नै अलपत्र

लुम्बिनीलाई प्रदुषणरहित बनाउँदै पर्यटकको सुविधाका लागि भनेर ३ वर्षअघि ल्याइएका विद्युतीय सवारी (बिजुली गाडी) घाम तापेरै थोत्रिएका छन् ।

३६ महिनाअघि एसियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा आएका १९ वटा विद्युतीय बस र ‘भ्यान’ प्रयोगमा नआई खुला आकाशमुनि थन्किएर थोत्रिएका छन् । 

बसका ठूला–ठूला शिशा फुटेका छन् । टायर पञ्चर हुनुका साथै सीट च्यातिएका छन् भने रंग पनि खुइलिएको छ । गाडीका ब्याट्री समेत चार्ज हुन छाडेका छन् ।

संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत लुम्बिनी ल्याइएका बस लुम्बिनी विकास कोषको कार्यालय परिसर बाहिर थन्किएको ३ वर्ष भयो । 

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने आन्तरिक र बाह्य पर्यटकलाई बुद्ध सर्किट सञ्चालन गर्ने गरी अत्याधुनिक सुविधासहितका ५ वटा बस र १४ वटा भ्यान/कार ल्याइएका थिए । सेतो नम्बर प्लेटका गाडी हरियोमा कन्भर्ट गर्नुपर्ने कानूनी अल्झनलाई समाधान गर्ने प्रदेश सरकारको निर्णयलाई यातायात व्यवस्था कार्यालयले लत्याउँदा लुम्बिनी ल्याइएका ‘इलेक्ट्रिक भेइकल’ थन्किएरै बिग्रिने अवस्थामा पुगेका हुन् ।

दातृ निकायबाट आएका महत्त्वपूर्ण साधन आन्तरिक कारण देखाउँदै चलाउन नसक्दा लुम्बिनीप्रति अन्तर्राष्ट्रिय जगतमा समेत नराम्रो सन्देश गएको छ । ८ वैशाख २०८० मा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दाताबाट अनुदानबाट प्राप्त गाडीलाई सेतोबाट हरियो नम्बर प्लेटमा रूपान्तरण गरी सेवा दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।  

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले सरकारको नीतिगत निर्णयलाई ब्युरोक्रेसी (कर्मचारीतन्त्र)ले नमान्दा गाडी चल्न नसकेको बताए । 

‘विद्युतीय गाडी सञ्चालनका लागि अन्तिम प्रयास गरौं भनेर केही दिनअघि प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चौधरीसँग भेट गर्‍यौं,’ भट्टराईले भने, ‘त्यहीँबाट कुरा गराउँदा मन्त्रिपरिषदको निर्णय र मन्त्रालयको आदेश समेत बुटवल सवारी (यातायात कार्यालय)का हाकिमले मान्दिनँ भने । अपवादको रूपमा हुने घटनालाई मन्त्री परिषद्ले कानूनीरूपमा बाधा अड्काउ फुकाइसकेको अवस्थामा समेत सहजीकरण गर्न सघाएनन् ।’

null

लुम्बिनीका विद्युतीय बस सञ्चालन ऐन कहिले संशोधन हुने हो र यी गाडी गुड्ने हो भन्ने अन्योलको अवस्थामा पर्यटन क्षेत्र चिन्तित छ ।

एडीबीको अनुदान सहयोगमा ‘क्लीन इनर्जी प्रोजेक्ट’अन्तर्गत १३ करोड रूपैयाँ लागतमा कोषलाई विद्युतीय सवारी प्राप्त भएका थिए । एउटा बसको मूल्य २ करोड र भ्यानको ४० लाख रुपैयाँ छ । 

यातायात व्यवस्था कार्यालय (सवारी) का अधिकृत पुष्पराज पाण्डेले मन्त्रिपरिषदले गाडी चलाउने भन्दैमा सेतो नम्बर प्लेटलाई हरियोमा परिवर्तन गर्ने निर्णय गरे पनि नियमावली नहुँदा दर्ता गर्न नसकिएको बताए ।

उनले लोकान्तरसँग भने, ‘क्याबिनेटको नीतिगत निर्णय हो । यो अब ऐन अथवा नियमावलीमा सेतो प्लेटलाई हरियो गर्नका लागि प्रक्रिया संशोधन गरिएको उल्लेख हुनुपर्‍यो, नत्र कानूनविनै काम गर्न सकिँदैन, क्याबिनेटले त नीतिगत निर्णय गर्ने हो, कानूनी रूपमा हुनुपर्‍यो नि काम गर्न त ?’

यी विद्युतीय सवारी नेपाल भित्र्याउँदा मात्रै ३ करोड ५० लाख बढी भन्सार राजस्व नेपाल सरकारले बेहोरेको छ । यिनै सवारी साधनका लागि भनेर लुम्बिनीमा १३ करोड ९० लाख रूपैयाँ लगानीमा चार्जिङ स्टेसन समेत बनिसकेका छन् ।

१७ स्थानमा चार्ज गर्ने व्यवस्था छ । चल्ने अवस्था नदेखिएपछि भ्यान/कार विकास कोषका कर्मचारीले रजाइँ गरेका छन् । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्यसचिव सानुराजा शाक्यसहित पदाधिकारी र शाखा प्रमुखहरूले कार र भ्यानमा रजाइँ गरेका छन् ।

गत निर्वाचन (२०७९) को समयमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि झण्डै एक महिना विभिन्न रुटमा बस चलेका थिए । त्यतिबेला बिग्रएका बस मर्मत समेत गरिएको छैन ।

गाडी सामान्य बिग्रिए पनि बनाउने वर्कसप–मिस्त्री र सामान्य पार्टपूर्जा समेत नपाइने समस्या छ । शान्तिभूमि लुम्बिनीमा धुवाँ र ध्वनीबाट हुने प्रदूषण घटाउन र पर्यटकलाई स्तरीय यातायात सुविधा दिन भन्दै विद्युतीय बस सञ्चालनका लागि बुद्ध जन्मस्थल लुम्बिनीदेखि भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल, मावली देवदह, बुद्धको अस्थीधातु रहेको नवलपरासीको रामग्राम हुँदै तिलौराकोटसम्मको रुट तय गरिएको छ ।

null

त्यसबेला किनिएका १३० बिजुली रिक्सा कोष आसपासमा सञ्चालनमा छन् । करोडौंका विद्युतीय सवारी अलपत्र पार्ने लुम्बिनी विकास कोष र सरकारी संयन्त्रविरुद्ध जनदबाब जरुरी देखिएको उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताए ।

गाडी चलाउनका लागि सरोकारवाला र पर्यटन व्यवसायीले खबरदारी गर्नुपर्ने आवश्यकता देखिएको अध्यक्ष जिसीको भनाइ छ । 

बस र ट्याक्सी अत्याधुनिक हुन् । १९ सीट क्षमताका बसमा उभिँदा ३५ जनासम्म अटाउँछन् । बस अपांगमैत्री छन् । स्वचालित खुल्ने ढोकावाला गाडीमा आनन्ददायी सीट छन् । कार्डले स्टार्ट हुने गरी आवाजरहित व्यवस्था छ ।

एकपटक फूल चार्ज गरे ४०० किलोमिटर गुड्छ । आपतकालीन अवस्थाका लागि ठूलठूला ढोका छन् । बस रोक्नका लागि सीटसीटमा बेलबटम छन् । थिच्नासाथ चालक छेउको बत्ती बल्छ । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका २ वटा मिनी बस एकैपटक ‘क्विक चार्ज’ गर्न सकिन्छ ।

क्विक चार्जरबाट फूल चार्ज हुन आधी घण्टा लाग्छ । लुम्बिनी क्षेत्रको पर्यटन विकासमा ठूलो लगानी गर्दै आएको दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाले बस नचल्दा आगामी दिनमा के गर्छ भन्ने प्रश्न खडा भएका छन् । तर, प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनी बस चलाएर छाड्ने दाबी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्