०८ साउन २०८३, शुक्रबार

दशैंमा युट्युबमा आएका फिल्म पनि रुचाइए, ‘फूलबारी’देखि ‘बाबरी’सम्मलाई लाखौंले हेरे

कात्तिक १२, २०८०
काठमाडौं
दशैंमा युट्युबमा आएका फिल्म पनि रुचाइए, ‘फूलबारी’देखि ‘बाबरी’सम्मलाई लाखौंले हेरे

दशैंको अवसर पारेर प्रदर्शनमा आएका नेपाली फिल्मले हलमा दर्शकको साथ पाए । असोज २६ गतेबाट प्रदर्शनमा आएको ‘परदेशी २’ र कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ : भस्मे डन’ अहिले पनि दर्शकको बाक्लो उपस्थितिका साथ प्रदर्शनरत छन् । 

दुवै फिल्मले राम्रो व्यापार गरेका छन् । ​

दशैंमा हलमा नेपाली फिल्मले दर्शक पाउँदा युट्युबमा सार्वजनिक गरिएका फिल्म हेर्ने दर्शकहरू पनि उल्लेख्य देखिएका छन् । 

दशैं​​को छेकोमा युट्युबमा आधा दर्जनको हाराहारीमा नेपाली फिल्म सार्वजनिक भएका थिए । ति सबै फिल्मले युट्युबमा छोटो समयमै लाखौं भ्युज पाएका छन् । 

झन्डै एक महिना अगाडि सार्वजनिक फिल्म ‘दुई नम्बरी’लाई आइतवारसम्म युट्युबमा ८८ लाख हाराहारीले हेरिसकेका छन् । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीलगायतको अभिनय छ । 

त्यस्तै, एक साताअघि युट्युबमा सार्वजनिक फिल्म ‘फूलवारी’ले ४६ लाख बढी भ्युज पाइसकेको छ । युट्युबमा ट्रेन्डिङको​ पहिलो नम्बरमा रहेको यो फिल्ममा विपिन कार्की, दयाहाङ राई, अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्केलगायतका कलाकारहरूको अभिनय छ । 

दुई साताअघि सार्वजनिक फिल्म ‘बाबरी’ले ४० लाख बढी भ्युज पाएको छ । धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकरलगायतका कलाकारहरूको यसमा शीर्ष भूमिका छ । 

‘२.० छड्के’, ‘रोमियो एण्ड मुना’ जस्ता दशैंको माहोलमा युट्युबमा सार्वजनिक नेपाली फिल्मले पनि राम्रो भ्युज पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्