
परराष्ट्रमन्त्री एनपी साउद आइतबार अमेरिका प्रस्थान गरेका छन्।
भ्रमणका क्रममा उनले सोमबार वाशिङ्टन डिसीमा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी उनले युएसएआइडीका प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।
भ्रमणका क्रममा मन्त्री साउदले युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसको कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र नेपाली–अमेरिकी व्यवसायीसँगको अन्तरक्रियामासमेत सहभागिता जनाउनेछन्।
५ सदस्यीय प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै अमेरिका गएका मन्त्री साउद कात्तिक १९ गते स्वदेश फर्किने कार्यक्रम छ ।