१४ असार २०८३, आइतबार

अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

कात्तिक १६, २०८०
काठमाडौं
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।
 
   आज गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले  जानकारी दिए । भोलि काठमाडौँका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने उनले जानकारी दिए।
 
        सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो रु एक सय १७ बिक्री गर्नेछन् । “हामीले सङ्घका सदस्य व्यापारीलाई चिनी प्रतिकिलो रु एक सय १७ मा बिक्री गर्न निर्देशन दिएका छौँ”, उनले भने, “उपभोक्ताले चिनीका लागि निर्धारित मूल्यभन्दा बढी तिर्न पर्दैन ।”
 
   सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना प्रत्येक पसलमा टाँस गर्न व्यवसायीलाई आग्रह गरिएको उनको भनाइ छ । काठमाडौँ उपत्यकामा एक हजार सात सय बढी खुद्रा व्यापारी सङ्घमा आबद्ध छन् ।
 
        वाणिज्य विभागमा महानिर्देशक तीर्थराज चिलुवालले अब विस्तारै चिनीको अभाव हट्दै जाने बताए । खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्ने उनले बताए ।
 
 यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय गरेको विभागका महानिर्देशक चिलुवालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्