
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरिरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीलाई गतिशील तुल्याउने विश्वास व्यक्त गरेका छन् ।
पार्टीको गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकलाई आज पोखरामा सम्बोधन गर्दै महासचिव गुरुङले तीन महिनाको अभियान प्रभावकारी भएको र सङ्गठन विस्तारमा समेत सहयोगी भएको बताए । उनले पार्टी गत भदौ १६ गतेदेखि सुरु भएको अभियान पदाधिकारी बैठकले एक महिना थप गरी पुस १५ गतेसम्म पुर्याएको जानकारी दिए ।
महासचिव गुरुङले भने, “अभियानले पार्टीलाई गतिशिल बनाएको छ । पार्टीका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अभियानमा जोडिनुभएको छ । यसले पार्टीभित्र र बाहिरसमेत सकारात्मक सन्देश प्रवाह भएको छ ।” उनले पार्टीको नेतृत्वमा रहेको सरकारले धेरै जनपक्षीय कामहरू गरिरहेकाले सरकारले गरेका राम्रा कामलाई जनतामा प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।
पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले गणतन्त्र, सङ्घीयता र अहिलेको प्रणालीको रक्षा गर्न माओवादी केन्द्र शक्तिशाली बन्नुपर्नेमा जोड दिए ।
बैठकमा पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङले प्रदेशका सात सय ५९ वटै वडामा सञ्चालन भइरहेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको बारेमा जानकारी गराएकी थिइन् ।