२४ जेठ २०८३, आइतबार
जाजरकोट भूकम्प

इपिसेन्टरबाट वडाध्यक्ष भन्छन्- 'सुतेका बेला घर गर्ल्यामगुर्लुम ढले, मान्छे निस्किनै पाएनन्'

कात्तिक १८, २०८०
बुटवल
इपिसेन्टरबाट वडाध्यक्ष भन्छन्- 'सुतेका बेला घर गर्ल्यामगुर्लुम ढले, मान्छे निस्किनै पाएनन्'
फाइल तस्वीर

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । 

नगरपालिका उपप्रमुख सरिता सिंहको समेत भूकम्पमा परेर ज्यान गएको छ । नगरपालिकाको वडा नम्बर १ मा सबैभन्दा धेरै क्षति भएको छ ।

जिल्ला सदरमुकामबाट ३९ किलोमिटर टाढा रहेको यो वडामा बिहानसम्म २४ जनाको मृत्यु र १५ जना गम्भीर घाइते भएको वडाध्यक्ष धनबहादुर महरले लोकान्तरलाई जानकारी दिए ।

वडाका चिउरीमा १३ जना, कल्पतमा ५ र पाली भन्ने गाउँमा ६ गरी २५ जनाको मृत्यु भएको उनले बताए । 'अहिलेसम्मको विवरणअनुसार हाम्रै वडामा बढी धनजनको क्षति भएको छ,' उनले भने, 'सबै ठाउँमा अझै सम्पर्क हुन सकेको छैन । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।' 

भूकम्पले बाटो बन्द हुँदा उद्दारमा समेत समस्या भएको उनले बताए । ‘धेरै विवरण आउन बाँकी छ,’ वडाध्यक्ष महरले लोकान्तरसँग भने, ‘घरहरू सग्लो छैनन् । उद्दारको लागि कुनै टोली अझै आएको छैन । घाइतेहरूलाई बोकेर पालिकास्तरका अस्पताल पुर्‍याउने प्रयासमा छौं । बाटो बन्द हुँदा गाडी पनि चलेका छैनन् । मृतकहरूको शव कुनुपर्ने हुँदा सबैलाई उद्दारमा वडाले खटाउन पनि सकेको छैन ।’ 

पशु चौपायाहरू पनि धेरै मरेको उनको भनाइ छ । ‘रातिमा सबै सुतिसकेपछि एक्कासि ठूलो धक्का आउँदा मानिसहरू बाहिर पनि निस्कन समेत पाएनन्,’ विस्तारामै आँखा मिच्दा मिच्दै सबै गर्ल्यामगुर्लुम भइसकेका थिए ।'

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव  ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो ।

भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १२८ जनाको ज्यान गएको पुष्टि भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्