
सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज बिहान उक्त टोली त्यसतर्फ गएको जानकारी दिए ।
उनका अनुसार टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट आठ जना र वीर अस्पतालबाट छ जना चिकित्सक र नर्स छन् ।
'चिकित्सक टोली जिल्ला अस्पतालमै घाइतेको शल्यक्रिया गर्ने व्यवस्थासहित गएको छ,' उनले भने, 'हामीले आवश्यकअनुसार केन्द्रबाट थप जनशक्ति पठाउने छौँ ।'
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आज बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।
गए राति जाजरकोट र पश्चिम रुकुममा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले गएको थियो । भूकम्पबाट ठूलो मानवीय क्षति भएको छ ।