
सरकारले सुनसरी घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता आननन्द काफ्लेका अनुसार समितिलाई प्रतिवेदन बुझाउन एक साताको म्याद दिइएको छ ।
घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग मन्त्रालयमा छलफल आयोजना गरेका थिए । छलफलपछि ५ सदस्यीय समिति गठन भएको हो ।
छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायत सहभागी थिए ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर गएराति एक जनाको मृत्यु भएको थियो । स्थिति थप बिग्रिन नदिन अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।