
जाजरकोट र रुकुम पश्चिममा गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत चेन सङले शनिवार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।
साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङले बताएका छन् ।
राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटलगायत हुने र ती केही दिनमा नेपाल आइपुग्ने उनले जानकारी दिएका छन् ।
राजदूत चेनले थप राहत पनि घोषणा गरिने जनाएका छन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । अहिलेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १५७ जनाको निधन भइसकेको छ भने कम्तीमा १९७ घाइते भएका छन् ।
