
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो अवस्थामा संख्याका कारणले अस्थिरता हुने भएकाले सबै मिलेर स्थिर सरकार बनाउनु पर्ने स्पष्ट पारे ।
शुक्रवार मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका एक–एक जनालाई मन्त्री बनाएपछि शनिवार नेकपा (एमाले)सरकार बाट बाहिरिएको छ ।
यसैप्रति लक्षित गर्दै नेता नेपालले कोशीमा अब एक खाले गठबन्धन मात्रै भएको बताए ।
‘सर्वपक्षीय सरकार बनेको छैन,’ उनले भने, ‘कहिले को सत्तामा को प्रतिपक्षमा हुने भन्ने अवस्थाले गुज्रिरहेको अवस्था छ । त्यसैले सबै मिलेर सहमतिको सरकार बनाउनु पर्छ ।’
कोशी सधै अस्थिरतामा धकेलिरहेकोमा उनले चिन्ता व्यक्त गरे ।
‘सर्वदलीय सरकार बनाएर आलोपालो गरेको भए पनि हुने थियो । मैले पहिलेका मुख्यमन्त्री हिक्मत कार्कीजीलाई पनि भनेको थिए । तपाईंहरूको पार्टीको तर्फबाट स्थायी सरकार बनाउनका लागि पहल गर्नुहोस् । सरकार ढाल्ने बनाउने काममा नलाग्नुहोस् । तर भनेजस्तो हुँदैन रहेछ । यो सरकारले विश्वासको मत लिएकाले अब केही समय चल्छ होला,’ उनले भने ।
मुलुकको अवस्था कहालीलाग्दो रहेको अध्यक्ष नेपालको भनाइ रहेको छ । ‘आर्थिक अवस्था सुधार गर्न व्यापक छलफल गरौँ भनेर मैले हिजो प्रधानमन्त्रीलाई भनेको छु,’ अध्यक्ष नेपालले भने, ‘भ्रष्टाचार अन्त्य गरेर जनताको निराशा अन्त्य गर्नुपर्छ भनेर पनि भनेको छु ।’
अर्को प्रशंगमा सरकारले रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णय गलत भएकोसमेत बताए ।
अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई भूकम्पपीडितको उद्धार तथा राहतमा खटिन पनि आग्रह गरेका छन् ।