
काठमाडौं, ९ असोज — जापानका प्रधानमन्त्री शिन्जो आबेले एक वर्षअगावै निर्वाचनको घोषणा गरेका छन् । उनले बिहीवार संसद् पनि भंग गर्ने भएका छन् ।

शिक्षा, ऋण घटाउने र सामाजिक खर्चका लागि उनले दुई खर्ब डलरको प्याकेजको पनि घोषणा गरेका छन् ।
यस ग्रीष्ममा आबेको समर्थन सूचकांक ह्वात्तै घटेको सन्दर्भमा यो घोषणा आएको हो ।
उत्तर कोरियासँग तनाव बढ्दै जाँदा भने उनको समर्थन बढेको थियो । तर उनलाई आफन्तलाई फाइदा पु–याएको आरोप चाहिँ लागिरहेको छ ।
विश्लेषकहरूका अनुसार, छिट्टो चुनाव गर्दा आबेले यो बढ्दो समर्थनबाट फाइदा लिन सक्ने र अहिले कमजोर अवस्थामा रहेको विपक्षीबाट चुनौती नआउने आँकलन गरेका हुन् ।
विगत केही महिनायता विभिन्न विवाद र अलोकप्रिय नीतिका कारण आबेको समर्थन घट्दै गएको थियो ।
जुलाई महिनामा उनको रेटिङ घटेर ३० प्रतिशतभन्दा कममा झरेको थियो तर सेप्टेम्बरमा ५० प्रतिशतसम्म उक्लेको थियो ।
बीबीसीबाट