२८ जेठ २०८३, बिहीबार

‘माओवादी जनयुद्ध’ पृथ्वीनारायण शाहको एकीकरण अभियानपछिको कीर्तिमानः प्रचण्ड

कात्तिक २३, २०८०
काठमाडौं
‘माओवादी जनयुद्ध’ पृथ्वीनारायण शाहको एकीकरण अभियानपछिको कीर्तिमानः प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सशस्त्र जनयुद्ध पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो कीर्तिमान भएको दाबी गरेका छन् ।

मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय रहेकाले सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक बिदाको निर्णय एकैपटक गरेको उनले बताए । 

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को जीवनीमा आधारित पुस्तक ‘यात्रा जिन्दगी’को बिहीवार काठमाडौंमा विमोचन गर्दै प्रचण्डले जनयुद्धको जीवन्त इतिहास कुनैदिन लेखिने बताएका हुन् । 

‘पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै थियो । त्यसैले गणतन्त्रपछि पहिलो पटक मैले नै पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक विदाको घोषणा गरेँ,’ प्रचण्डले भने, ‘त्याग र बलिदानको कीर्तिमान एवं मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय छ । अहिले यसमाथि विभिन्न खालका बहसहरू पनि छन्, तर एकदिन जनयुद्धको जीवन्त इतिहास लेखिने नै छ ।’

‘जनयुद्ध दिवस’को नाममा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायतले विरोध गरिरहेका छन् । उनीहरूले माओवादीले शुरू गरेको हिंसात्मक आन्दोलनलाई जनयुद्ध मान्न नसकिने बताउँदै आएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्