
स्पेनिस फूटबल क्लब बार्सिलोनाले विश्वकप विजेता अर्जेन्टिनाको टोलीलाई मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको छ ।
गत वर्ष २०२२ मा कतारमा विश्वकप जितेको लियोनल मेसी नेतृत्वको अर्जेन्टिनासँग उनकै पूर्वक्लब बार्सिलोनाले मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको स्पेनिस सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बार्सिलोनाले आफ्नो क्लब स्थापना भएको १२५औं वर्ष पुगेको अवसरमा विश्वविजेता टोलीसँग आफ्नो क्लबको मैत्रीपूर्ण खेल खेलाउन प्रस्ताव गरेको हो । उक्त खेल २०२४ मा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।
यो खेललाई बार्सिलोनाले आफ्नो घरेलु रंगशाला क्याम्प नाउमा आयोजना गर्न चाहेको छ । अहिले क्याम्प नाउमा पुनर्निर्माणको कार्य चलिरहेको छ । अर्को वर्षमा सो कार्य सकिएपछि खेल हुने बताइएको छ ।

यो खेल अर्जेन्टिनाका कप्तान मेसीका लागि भावनात्मक हुने निश्चित छ । सुन् २००० मा १३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका मेसीले २०२१ सम्म सो क्लबमा खेलेका थिए । त्यहाँ रहँदा उनले ४ वटा च्याम्पियन्स लिग र १० वटा ला लिगासँगै थुप्रै उपाधि जितेका थिए ।
क्लबका पूर्वकप्तानसमेत रहेका मेसी बार्सिलोनाको इतिहासकै सबैभन्दा महान खेलाडी मानिन्छन् । मेसी फ्रेन्च क्लब पीएसजी छोडेर यसै वर्ष अमेरिका गएका छन् । उनी अहिले इन्टर मायमीमा आबद्ध छन् ।
बार्सिलोनाको सिनियर टोलीमा संयोगबश कुनै पनि अर्जेन्टिनी खेलाडी आबद्ध छैनन् ।
यो खेल भएमा विश्व फूटबल महासंघ (फिफा)को आधारिक मान्यता प्राप्त भने हुने छैन । किनकि, क्लब र राष्ट्रिय टोली बीचको खेलले आधिकारिता पाउने नियम छैन ।