२७ जेठ २०८३, बुधबार

आज धनतेरस मनाइँदै

कात्तिक २४, २०८०
काठमाडौं
आज धनतेरस मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ ।

यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ ।

धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैं घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । भाँडा पसलमा १ हप्ताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रूपमा साजसज्जा गरी राखिएको छ ।  

यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यमदीप दान शुरू गरिँदैछ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

आज धनका अधिपति कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधना समेत गरिन्छ । केहीले आज कुबेरको पूजाआराधना गरे पनि केहीले भने लक्ष्मीपूजाकै दिन कुबेरको पूजाआराधना गर्छन् ।

दीपावली, तिहार, यमपञ्चक जस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दशैंपछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रूपमा कात्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ । 


 

salt training

कमेन्ट गर्नुहोस्