
सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिका प्रमुख रीना साहको पद रिक्त भएको निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले शुक्रवार साहलाई नगर प्रमुखको पदमा काम गर्न अन्तरिम आदेश जारी गरेको हो ।
पति प्रभू साहले एमाले छाडेपछि मेयर रीनालाई एमालेले कारबाही गरी पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।
सोहीअनुसार आयोगले असोज २९ गते साह पदमुक्त भएको सूचना प्रकाशित गरेको थियो ।
निर्वाचन आयोगको निर्णयविरुद्ध रीना सर्वोच्च गएकी थिइन् ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२ मा ‘निजले सम्बन्धित दलको सदस्यबाट राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा या निज आफैँले या आफैँ संलग्न भइ अर्को दल खोलेमा मात्र’ दल त्याग गरेको व्यवस्था रहेपछि रीनाले दल त्याग गरेको प्रमाण नभेटिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
एमाले परित्याग गरेर प्रभु साहले अहिले आम जनता पार्टी गठन गरेका छन् । २०७९ वैशाखमा भएको चुनावमा रीना एमालेको तर्फबाट मेयर निर्वाचित भएकी थिइन् ।