१९ असार २०८३, शुक्रबार
सफल व्यवसायीको कथा

रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काएका पाण्डेको यात्राः किराना पसल हुँदै ‘फोर स्टार’ होटलसम्म

अबको लक्ष्य पोखरा वा काठमाडौंमा ‘स्टार’ होटल
कात्तिक २५, २०८०
बुटवल
रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काएका पाण्डेको यात्राः किराना पसल हुँदै ‘फोर स्टार’ होटलसम्म

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि सामान्य होटलबाट पर्यटन क्षेत्रमा पाइला चालेका पाण्डे ‘हस्पिटालिटी’  क्षेत्रमा  सक्षम नेतृत्वको रूपमा दरिएका छन् । उनकै ‘कन्सेप्ट’ले एसियन पार्टी प्यालेस, एसियन होटलदेखि एसियन बुद्ध ‘फोर स्टार’ होटलसम्म रूपन्देही क्षेत्रमा चर्चित छन् । जतिबेला पनि ‘टुरिजम’ क्षेत्रमा केही फरक गर्ने हुटहुटी भएका पाण्डेलाई सफलताले सधैँ पच्छ्याइरहेको छ । 

पर्यटन क्षेत्रको विकास र विस्तारबाट व्यक्ति विशेषले मात्रै होइन, सिंगो मुलुकले आर्थिक फाइदा लिन सक्छ भन्ने निचोडले आफू पर्यटन क्षेत्रमा तानिएको पाण्डे बताउँछन् । हुन पनि उनी यस क्षेत्रमा नयाँ ब्राण्ड पस्कँदै आइरहेका छन् । परम्परागत नेपाली समाजलाई ‘हस्पिटालिटी’ क्षेत्रले चामत्कारिक ढंगबाट बदलेको पाण्डेको बुझाइ छ । उनी जे आँट गर्छन्, त्यसपछि उनले कहिल्यै पछाडि फर्किन नपरेको पाण्डेलाई नजिकबाट चिन्नेहरू बताउँछन् । उनको सफलता र उद्यमशीलताको यात्रा पनि उत्तिकै रोचक र चाखलाग्दो छ ।  

null

मोदी ग्रुपको जागिर छोडर स्वदेश फिर्ता 
पाण्डे साविक अर्घाखाँचीको भगवती गाविस वडा नम्बर–५ मा विस २०२० मा जन्मिएका हुन् । सानैदेखि लगनशील र इमानदार उनले विद्यालय तह गाउँकै सरस्वती निमाविमा पढे । उनले २०३७ मा चुत्रावेशीको जनज्योति माविबाट तत्कालीन एसएलसी (हाल एसईई) उतीर्ण गरे । त्यसलगत्तै युनिसेफको परियोजनाअन्तर्गत स्वास्थ्य कार्यकर्ताको रूपमा भगवती गाविसमा काम गर्न शुरू गरे । तीन वर्ष गाउँमै स्वास्थ्य क्षेत्रमा काम गरे । त्यसपछि पढ्दै–कमाउँदै गर्ने सोचका साथ उनी २०४२ मा भारतको नयाँ दिल्ली हानिए । उनका दाजु रोजगारीको सिलसिलामा त्यहीँ थिए । 

त्यहाँ पाण्डेले मोदी ग्रुपअन्तर्गतको इटालियन कम्पनीमा राम्रो काम गर्ने अवसर पाए । कम्पनीले उनलाई नेपालको काठमाडौं शाखा हेर्नेगरी यतै पठाइदियो । दुई वर्ष काठमाडौंमा काम गरे । त्यसपछि पाण्डे सोही कम्पनीसँग सम्बन्धित काम गर्न दिल्लीमै गए । कम्प्युटर बिक्री गर्ने उक्त कम्पनीमा उनले झण्डै दुई दशक काम गरे । उनले सो जागिरबाट राम्रो कमाइ पनि हात पारे । कम्पनीले उनलाई मुम्बई शाखामा सरुवा गरिदियो । तर, उनले मुम्बई नजाने निर्णय गरे । बरू नेपाल फर्किएर पर्यटन क्षेत्रमा लगानी गरेर काम गर्ने सोच बनाए ।

‘दिल्लीबाट मुम्बई सरुवा भएपछि मैले त्यहाँ नजाने निर्णय गरेँ । मलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोच पलायो । अनि नेपाल फर्किएर व्यवसायमै लाग्ने अठोट गरेँ,’ उनले भने ।

किराना पसलबाट यात्रा शुरू
नेपाल आएपछि पाण्डेले २०५३ मा बुटवलमा किराना पसल खोले । त्यहीँबाट उनले व्यवसायको सुरुवात गरे । तर, यसलाई दीर्घकालीन बनाउने चाहना उनीमा थिएन । होटल व्यवसायका लागि कहाँको स्थान उपर्युक्त हुन्छ भनेर उनी बजार घुमिरहन्थे । घुम्दैजाँदा बुटवलकै ट्राफिकचोकमा घर भाडामा लगाएको उनले देखे । ‘त्यहीँ १० कोठासहितको घर भाडामा लिएर साढे दुई लाख लगानी गरेको हुँ,’ उनी भन्छन् । त्यही ठाउँ उपर्युक्त लागेपछि पाण्डेले जनसेवा नामक होटल सञ्चालन गरी २०५३ मा पर्यटन क्षेत्रमा पाइला टेकेका हुन् । ‘११ हजार मासिक भाडामा लिएर होटल क्षेत्रमा जोडिए,’ पाण्डेले सम्झिए, ‘सबैले महँगो भाडामा लियो भनेका थिए । लाहुरेले होटल चलाउँछु भनेर मलाई महँगो भाडा लिएछ । यसले कति दिन चलाउँला भनेर गाइँगुइँ कुरा गर्थे । तर, म सफल भएर देखाउँछु भनेर मनमा लिइरहेको हुन्थे ।’

आफ्नो व्यवसायमाथि अनेक अफवाह सुनेपछि पाण्डे सचेत भए । एक वर्षको भाडा घाटा गइन्छ भनेर छुट्याएरै राखे । तर, अचम्म ! होटल शुरू गरेको छोटो समयमा नै राम्रै चल्न थाल्यो । भारतमा रोजगारी गरेर गुल्मी, पाल्पा, अर्घाखाँची बागलुङ आदि जिल्ला फर्किनेहरू जनसेवा होटलमा नै बस्न थाले । ‘होटल व्यवसाय भनेको नै अरूको सेवा गर्ने हो । कसको सेवा हो त भन्दा जनताको भन्ने हुन्छ । यसर्थ, नाम पनि जनसेवा राखिएको हो,’ उनी भन्छन्  । पाण्डेले व्यवसायसँगै सेवाको भाव पनि राखेकाले होटलले छोटो समयमै चर्चा कमायो । उनले सबैको साथ–सहयोग पनि पाए । सफलता मिल्दै गयो । होटल चलाउँदै गर्दा अरूलाई सम्मान दिने र आफूले पनि सम्मान लिने भन्ने कुरा सिकेको उनी बताउँछन् । ‘आज खाना खान कहाँ जाने त भन्दा जनसेवामा भन्ने बुटवल तथा यस आसपासमा गुन्जिन थाल्यो,’ पाण्डे भन्छन्, ‘यात्रा गर्नेहरू पनि बुटवलमा झरेर जनसेवामा खाना खाएर जान्थे । २०–२२ वर्ष जनसेवामा तल्लिन रहेँ । यसले मलाई सफलता दिलायो ।’ 

पार्टी प्यालेस हुँदै फोर स्टार होटलसम्म
२०६५ सालताका शहरी क्षेत्रमा पार्टी प्यालेसको ‘कन्सेप्ट’ आएको थियो । पाण्डेले अब पार्टी प्यालेस पनि चलाउनुपर्छ भनेर लगानी गर्नेहरूसँग समन्वय गरे । त्यसपछि टीम नै बनाएर एसियन पार्टी प्यालेस सञ्चालन गरे । त्यसको केही वर्षपछि २०६९ सालमा त्यही नामको होटल पनि सञ्चालनमा ल्याउने योजना बन्यो । उनले टिमसहित कालिकानगरमा होटल एसियन सञ्चालनमा ल्याए । जलाई समयअनुसार स्तरोन्नति गरियो । स्टार होटल स्तरको सुविधासम्पन्न बनाएर सञ्चालन गरियो । पाण्डेको होटलयात्रा यतिमै रोकिएन । २०७६ मा भैरहवामा एसियन बुद्ध ‘फोर स्टार’ पनि चलाए । तर, अहिले उनी एसियन होटल र एसियन बुद्धबाट बाहिरिएका छन् । ‘होटलमा आएका मानिसलाई हेरेर स्वभाव र उनीहरू स्वार्थ छुट्याउन सक्ने भएको छु,’ उनी भन्छन्, ‘होटलमा राम्रो कामका योजना पनि बन्छन् । नराम्रा गतिविधि गर्न पनि यहीँ आउने गरेको पाइन्छ । खराव नियत लिएर आएजस्तो लागे मैले सिधै ‘रिजेक्ट’ समेत गर्थे ।’ यसैबाट हौसिएका पाण्डे थप सुधारसहित पोखरा वा काठमाडौंमा ‘स्टार’ होटल सञ्चालन गर्ने योजनामा छन् । 

पर्यटन क्षेत्रमा लागि चार गाडी सञ्चालन
पाण्डेले पर्यटन क्षेत्रमा लागि चारवटा गाडी पनि सञ्चालन गरिरहेका छन् । हरियो नम्बर प्लेटका दुईवटा हाइस र दुईवटा ‘स्कारपियो’ रहेका छन् । ‘होटललाई चाहिने ट्राभल र गाडी केही पनि कमी नहोस् भन्ने मेरो चाहना छ,’ उनी भन्छन्, ‘होटलबाट पर्यटकहरूले गाडी रिजर्व गरेर घुम्न सकुन् भन्ने हेतुले गाडी सञ्चालन गरिएको हो । ती गाडी पनि अहिले राम्ररी चलिरहेका छन् ।’ 

कोरोना भाइरस महामारी र आर्थिक मन्दीले गर्दा पर्यटन क्षेत्रलाई अफ्ठ्यारोमा पारेको पाण्डेको गुनासो छ । यसले गर्दा पर्यटन क्षेत्रको अबौं लगानी जोखिममा रहेको उनले बताए । बैंकहरू सहज र र यिनले लिने नीतिमा एकरूपता नहुँदा पर्यटन क्षेत्रले अफ्ठ्यारो भोगिरहेको उनले दृष्टान्त दिए । राज्यले पर्यटन क्षेत्रलाई फरक तरिकाले हेर्न नसक्दा उल्लेख्य प्रगति गर्न नसकिएको उनको बुझाइ छ । ‘पर्यटन व्यवसायलाई फस्टाएर लगे राज्यका लागि सबैभन्दा राम्रो अरू केही छैन । यही क्षेत्रबाट सुन फलाउन सकिन्छ,’ उनी भन्छन्, ‘तर पर्यटन व्यवसायीको सोच र लगानीले मात्र यो सम्भव नहुने रहेछ । राज्यले पनि साथ दिनुपर्छ ।’

पर्यटन क्षेत्रमा नबुझी लगानी गर्नेहरू पनि रहेको पाण्डेले बताए । विकल्प हेरेर र बुझेर मात्र यस क्षेत्रमा लगानी गर्न उनको सुझाव छ । ‘दीर्घकालीन सोचबिना पर्यटन क्षेत्रमा हाले दुर्घटनामा पुगिन्छ । प्लानिङ नभएसम्म टिक्न सकिँदैन । यसमा गरिने संस्कार र आथित्यताबारे पनि ज्ञान हुनुपर्छ,’ उनी थप्छन् । पछिल्लो समय होटलमा भोजभतेर समेत गर्न थालिएकोप्रति उनी सकारात्मक देखिएका छन् ।

‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन होस्’
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सके यस क्षेत्रको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने पाण्डेको विश्वास छ । लगत्तै बुटवलमा सस्तो र स्तरीय खाना खुवाउने गरी नेपाली भान्छा घर सञ्चालन गर्ने पाण्डेको योजना छ । जसको नाम पनि ‘एसियन’ नै हुनेछ । अहिले उनी यसको तयारीमा जुटिसकेका छन् । 

पाण्डेका जेठा छोरा प्रवीन चीनबाट मेकानिक इन्जिनियरिङ सकेर आउँदैछन् भने कान्छा विज्ञान बीबीएस पढ्दैछन् । दुवै छोराले आफ्नो अध्ययन पूरा गरेपछि आफ्नै उद्यमलाई साथ दिने पाण्डेको विश्वास छ । उनीहरूको साथ रहे व्यवसाय अझै विस्तार गर्ने सोचमा उनी छन् । पाण्डेकी छोरी शिखा भने डाक्टर छिन् । छोरीको पेशा छनोटप्रति पनि उनी गर्व नै गर्छन् । 

salt training

कमेन्ट गर्नुहोस्