२१ जेठ २०८३, बिहीबार
अभिनेत्रीको करिअर

अहिलेका हिट अभिनेत्री, जसले बिहेपछि पनि घटाएनन् ‘फिल्मी करिअर’को रफ्तार

कात्तिक २५, २०८०
काठमाडौं
अहिलेका हिट अभिनेत्री, जसले बिहेपछि पनि घटाएनन् ‘फिल्मी करिअर’को रफ्तार

थुप्रै अभिनेत्रीहरू विवाहपछि फिल्म क्षेत्रबाट गुमनाम छन् । एक समयका निकै हिट अभिनेत्रीहरू विपना थापा, अरुणिमा लम्साल, सज्जा मैनालीदेखि गरिमा पन्त, सुमिना घिमिरेसम्मलाई दर्शकले फिल्ममा नदेखेको लामो समय भइसक्यो । 

उनीहरू विवाहपछि फिल्म क्षेत्रबाट पलायनजस्तै भएका हुन् । यीमध्ये धेरै अभिनेत्रीहरू विदेश पलायन भएको लामै समय भइसकेको छ । 

null

तर, विवाहपछि चम्किएका अभिनेत्रीहरू समेत थुप्रै छन् । करिश्मा मानन्धर निर्माता विनोद मानन्धरसँग विवाह गरेपछि चम्किएकी अभिनेत्री हुन् । उनी अहिलेसम्म पनि फिल्ममा अभिनय गरिरहेकी छिन् । उनको शीर्ष भूमिका रहेको फिल्म ‘बगान’ यही वर्ष प्रदर्शनमा आएको थियो । 

null

विवाहपछि चम्किएकी अर्की अभिनेत्री हुन् झरना थापा । निर्माता सुनिलकुमार थापासँग विवाह गर्दा उनको फिल्मी करिअर सुरु भएकै थिएन । 

अभिनेत्रीका रूपमा कयौँ हिट फिल्म दिएकी झरना निर्माता हुँदै सफल निर्देशकका रूपमा समेत स्थापित भइसकेकी छिन् । उनकी छोरी सुहाना थापासमेत फिल्म क्षेत्रकी चर्चित अभिनेत्री बनिसकेकी छिन् । 

झरनाको निर्देशन र सुहानाको अभिनय रहेको पछिल्लो फिल्म ‘एक भगवत र एक गीता’ यही वर्ष प्रदर्शनमा आएको थियो । 

null

अभिनेत्री रेखा थापा विवाहपछि फिल्म क्षेत्रमा अझ सक्रिय भएकी अभिनेत्री हुन् । निर्माता छवी ओझासँग् विवाहमा रहँदा उनी फिल्म क्षेत्रमा निकै सक्रिय थिइन् । छवीसँग सम्बन्ध विच्छेदपछि केही वर्ष सिंगल रहेकी रेखाले २०७८ सालमा बलराम शाहीसँग दोस्रो विवाह गरिन् । अहिले रेखाले फिल्म ‘उपहार’ निर्माण गरेकी छन्, जुन फिल्मको एउटा गीत शुक्रवारमात्रै युट्युबमा सार्वजनिक गरिएको छ । 

पछिल्लो समय हेर्ने हो भने, अहिलेका निकै चर्चित अभिनेत्रीहरूलाई समेत विवाहले करिअरमा कुनै असर गरेको देखिँदैन । बरु, उनीहरूको करिअर विवाहपछि अझ चम्किएको देखिन्छ । त्यस्ता अभिनेत्रीहरूले विवाह गरेपछि फिल्ममा सक्रियता घट्छ भन्ने बुझाइलाई समेत गलत सावित गरेका छन् । 

अभिनेत्री स्वस्तिमा खड्का विवाहपछि फिल्म क्षेत्रमा अझ बढी सक्रिय रहने अभिनेत्रीमा पर्छिन् । करिअरले राम्ररी पिकअप नलिँदै स्वस्तिमाले ८ वर्षअघि निर्देशक निश्चल बस्नेतसँग विवाह गरेकी थिइन् । विवाहपछि उनी फिल्म क्षेत्रमा निकै चम्किँदै गइन् । 

null

त्यसबेला कतिपयले उनको करिअर अब सुस्ताउँछसमेत भनेका थिए । तर, उनी विवाहपछि फिल्म क्षेत्रमा अझ सक्रिय बन्दै गइन् र केही वर्षयता फिल्ममा सबैभन्दा खोजिने अभिनेत्रीको पहिचान बनाइन् । 

एकपछि अर्को फिल्ममा काम गरिरहेकी स्वस्तिमाको ‘पशुपति प्रसाद २ः भस्मेडन’ र ‘दिमाग खराब’ प्रदर्शनरत छन् । म्युजिक भिडियो र विज्ञापनहरूमा समेत स्वस्तिमा निकै व्यस्त बन्ने गरेकी छन् । 

null

फिल्म क्षेत्रमा अभिनेत्री आँचल शर्माको व्यस्तता विवाहअघि र पछि उस्तै छ । चार वर्षअघि प्रेमी उदीप श्रेष्ठसँग विवाह गरेकी आँचल विवाहपछि पनि उत्तिकै सक्रिय काम गरिरहेकी छिन् । उनको पछिल्लो हिट फिल्म ‘झिंगेदाउ’ हो, जुन गतवर्ष प्रदर्शनमा आएको थियो । उनले पछिल्लो समय अभिनेता दयाहाङ राईसँग  फिल्म ‘डिग्री माइला’मा काम गरेकी छिन् । आँचल म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त हुने गरेकी छन् । 

null

अहिलेकी अर्की हिट अभिनेत्री वर्षा राउत पनि फिल्म क्षेत्रमा विवाहअघि र पछि उत्तिकै सक्रिय छिन् । ‘नाइ नभन्नू ल ४’बाट फिल्म क्षेत्रमा उदाएकी अभिनेत्री वर्षाले आजभन्दा झण्डै पाँच वर्षअघि व्यवसायीसमेत रहेका अभिनेता संजोग कोइरालासँग विवाह गरेकी थिइन् । विवाहपछि वर्षाले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेको फिल्म ‘ऐंचो पैंचो’ गत भदौंमा प्रदर्शनमा आएको थियो । वर्षा यतिबेला अर्को फिल्म ‘महाजात्रा’को सुटिङमा व्यस्त छिन् । 

null

विवाहपछि पनि फिल्म क्षेत्रमा उत्तिकै सक्रिय रहेकी अर्की अभिनेत्री हुन् प्रियंका कार्की । पहिलो श्रीमानसँग सम्बन्धविच्छेद गरेकी प्रियंकाले चार वर्षअघि अभिनेता आयुष्मान देशराज जोशिसँग दोस्रो विवाह गरेकी हुन् । त्यसपछि पनि प्रियंकाले थुप्रै फिल्म एवं म्युजिक भिडियोमा काम गरिसकेकी छन् । प्रियंकाको करिअरलाई पनि विवाहले कुनै असर गरेको देखिँदैन । उनले एकपछि अर्को फिल्म र म्युजिक भिडियोमा काम गरिरहेकी छन् । यतिबेला उनको अभिनय रहेको फिल्म ‘फूलबारी’ले युट्युबमा निकै राम्रो भ्युज पाइरहेको छ । 

null

अभिनेत्री केकी अधिकारीले विवाह गरेको धेरै भएको छैन । केकीले प्रेमी रोहित तिवारीसँग झण्डै डेढ वर्षअघि विवाह गरेकी हुन् । विवाहपछि पनि उनले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । यतिबेला पनि केकीको अभिनय रहेको फिल्म ‘परदेशी २’ हलमा प्रदर्शनरत छ । यो फिल्म सुपरहिट भइसकेको छ । 

null

अभिनेत्री सुरक्षा पन्तले विवाह गरेको पनि धेरै समय भएको छैन । उनले गत फागुनमा प्रेमी अभिनेता मानव सुवेदीसँग विवाह गरेकी हुन् । सुरक्षा विवाहपछि फिल्म क्षेत्रमा विवाहअघि जस्तै गरी सक्रिय लागिरहेकी छिन् । उनको अभिनय रहेको फिल्म ‘जुलेबी’ गत भदौंमा प्रदर्शनमा आएको थियो । उनले अभिनेता दयाहाङ राईसँग फिल्म ‘कार्साङ’मा काम गर्ने तयारी छ ।

null

एक समयकी हिट अभिनेत्री नीशा अधिकारीले ६ वर्षअघि क्रिकेटर शरष भेष्वाकरसँग विवाह गरेकी थिइन् । विवाहपछि निशाले केही फिल्ममा अभिनय गरेकी छिन् । यद्यपि, उनको करिअर विवाहपछि केही सुस्ताएको देखिन्छ । ‘ऐश्वर्य’, ‘छक्का पञ्जा ३’जस्ता चर्चित फिल्ममा अभिनय गरेकी अभिनेत्री दिपिका प्रसाईँ पनि पछिल्लो समय फिल्ममा केही सुस्ताएकी छिन् । उनले चार वर्षअघि निर्देशक दीवाकर भट्टराईसँग विवाह गरेकी थिइन् । अहिले श्रीमान दिवाकरकै निर्देशन रहेको फिल्म ‘मायावी’मा दीपिकाले अभिनय गरेकी छिन् । जुन फिल्मको पहिलो चरणको छायांकन हालसालै सकिएको छ ।

सबै तस्वीर: अभिनेत्रीहरूका फेसबुकबाट ।

salt training

कमेन्ट गर्नुहोस्