
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कति दिन प्रधानमन्त्री रहन्छु भन्नेमा आफू चिन्तित नभएको बताएका छन् ।
पार्टीको विशेष रूपान्तरण अभियानअन्तर्गत शनिबार काठमाडौंको कीर्तिपुरमा जनतासँगसँगको साक्षात्कार कार्यक्रममा बोल्दै पदमा बस्नेभन्दा नागरिकलाई सुशासन र समृद्धि दिने विषय आफ्नो लागि ठूलो कुरा भएको बताएका हुन् ।
सुशासन, सामाजिक न्याय र समृद्धि मुख्य विषय भएको उनले बताए ।
‘२०६४ एउटा स्थिति थियो । तर, हामी ०६४ मा त फर्किन सक्दैनौं । अब आउने ०६४ होइन ८४ हो । २०८४ मा हामी ०६४ जस्तै जनताको पक्षमा उभिन सक्छौं कि सक्दैनौ ? हामीले सरकारबाट पनि नयाँ आन्दोलनको शुरू गरिसकेका छौं । यसलाई अझै अगाडि बढाउँछौं । जनताको भरोस र विश्वास जित्न सक्छौं कि सक्दैनौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु र मुख्यमन्त्री हुन्छु भन्ने मुख्य कुरा होइन । जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धि मुख्य विषय हो । राम्रो काम गर्न सक्यौं भन्ने जनतालाई बुझाउन सकियो हामी काम गर्न सक्छौं ।’
पछिल्लो समय अर्थतन्त्र सुधारको बाटोमा गएको भन्दै यसलाई अझै प्रभावकारी बनाउने जानकारी दिए ।