
हाम्रो देशमा सिङ्गो खसी काटेर एउटै परिवारले एकै छाक खाने चलन कमै पाइन्छ । यो दशैंमा पनि कमै सम्भव छ । यसर्थ एक परिवारले एकै छाकमा सिङ्गै खसी खान्छन् भन्दा धेरै नेपालीलाई अचम्म लाग्नु स्वाभाविकै हो । एउटा खसी नटुक्र्याइकन सिङ्गै पकाएर खाने चलन यो दुनियाँमा छ । खाडी देशका अधिकांश घरमा यस्तो चलन देख्न सकिन्छ । सिङ्गो खसीलाई हलाल (मुस्लिम समुदायमा उल्टोबाट रेटेर काट्नुलाई हलाल भन्छन्) गरी चामलको भातको साथमा पस्कने यो परिकार खान निकै स्वादिष्टसमेत हुन्छ । खाडी मुलुकमा यो परिकार धेरै लोकप्रिय मात्र छैन, कति देशको त यो रास्ट्रिय खाना नै हो ।

साउदी अरबिया, दूबई, कतार, ओमान, बहराइन, यमन, ओमान, कुबेत, इराक इरान, लेबनानलगायत मुस्लिम बाहुल्य धेरै देशले यो परिकार रुचाउँछन् । घरमा होस् या होटल–रेस्टुरेन्टमा गएर नियमित रुपमा खाने गर्छन् । यो परिकारको नाम र बनाउने तरिका देशैअनुसार फरक–फरक हुन्छ । यो परिकारको नाम उजी हो । उजी शब्द लेबनिस हो, जसको अर्थ भेडा या खसीको मासु र भात भन्ने बुझाउँछ । यो परिकार बनाउन त्यति सजिलो भने छैन । समय धेरै लाग्ने र खर्चिलो पनि छ । तर सबैको प्रिय परिकार भएका कारण यो परिकार नियमित पकाउनै पर्ने हुन्छ ।
घरमा दुई–चार जना पाहुना आउँदा होस या परिवारले खाने इच्छा हुनासाथ उजी पकाउनुपर्ने हुन्छ । होइन भने होटल या रेस्टुरेन्टमा अडर गर्नुपर्ने हुन्छ । यो परिकार अर्डर गर्दा कम्तीमा पनि ६ घन्टा पहिला नै भन्नुपर्छ किनकि, उजी पकाउन घटीमा पनि पाँच घण्टा लाग्ने हुन्छ । यदि केही कलिलो पाठो छ भने पाक्न केही कम समय लाग्न सक्छ ।
कसरी बन्छ उजी ?

उजी बनाउन ठिक्क साइजको २० देखि २५ किलोको खसी (बोका, भेडा या च्याङग्रा पनि) उपलब्ध गराउने र काटेर सफा गर्ने । मुस्लिम परिकार भएका कारण हलाल विधि अपनाएर बध गरी छाला रगत हटाउने ।
ठूलो डेक्चीमा डुब्ने गरी पानी हाल्ने अनि खसीलाई उसिन्न शुरू गर्ने । अब गरम मसलाको दाना, कागती, सिङ्गो सुन्तला र अरबिक मसला हालेर कम्तीमा चारदेखि पाँच घण्टा पकाउने ।

यसपछि सिङ्गो खसीलाई ट्रेमा निकालेर चिस्याउने र तेल मसला दलेर ओभनमा सानो आचमा ४५ मिनट रोस्ट गर्ने । तीन किलो जति बासमती चामललाई पखालेर खसी उमालिरहेको चामल र पानीसहितको भाँडोमा हालेर पकाउने ।

अब पाकेको भातलाई फराकिलो किस्तीमा फिँजाएर त्यसको माथि रोस्ट भएको सिङ्गो खसी हाली सजावटका साथ पाहुना या परिवारलाई एकसाथ पस्कने । यो परिकार सबैले एउटै भाडोमा खाने परम्परा हुन्छ । यसका लागि परिकारलाई बीचमा राखेर वरिपरि बस्नुपर्ने हुन्छ ।