
भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिवार भएका खेलको नतिजाले अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको हो ।
अब घरेलु टोली भारतले फाइनल प्रवेशका लागि न्युजिल्यान्ड प्रतिद्वन्द्वी पाएको छ ।
यस्तै, दक्षिण अफ्रिका अष्ट्रेलियासँग भिड्नेछ ।
भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यता न्युजिल्यान्डले चौथो स्थान हासिल गरेपछि पहिलो स्थानको भारत प्रतिद्वन्द्वी पाएको हो ।
दक्षिण अफ्रिका अंक तालिकाको दोस्रो तथा अष्ट्रेलिया तेस्रोमा रहन सफल भएसँगै यी दुईले एक–अर्कालाई प्रतिद्वन्द्वी पाएका हुन् ।

भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया यसअघि नै सेमिफानलमा पुगेका थिए । तर शनिवार न्युजिल्यान्ड र पाकिस्तानमध्ये एउटाको टुंगो लाग्ने थियो । यसमा इंग्ल्यान्डले पाकिस्तानलाई जीतका लागि ३३८ रनको विशाल लक्ष्य दिएपछि पाकिस्तान दबाबमा परेको थियो ।
कोलकाताको इडेन गार्डेनले टस जितेर पहिले ब्याटिङ गर्दै पूरै ५० ओभरमा ९ विकेट गुमाए ३३७ रन बनाएर विशाल लक्ष्य दिएसँगै पाकिस्तान दबाबमा आएको हो ।
इंग्ल्यान्डले दिएको लक्ष्य पाकिस्तानले ६.४ ओभरमा भेट्टाउनुपर्ने थियो । त्यो नसकेपछि पाकिस्तान बाहिरिएको हो ।
शनिवार नै भएको अर्को खेलमा अष्ट्रेलियाले बंगलादेशलाई हराएको थियो । तर यो नतिजाले सेमिफाइनल समीकरणमा कुनै असर पारेन ।
समूहको शीर्ष स्थानमा रहेको भारतले अझै एक खेल खेल्न बाँकी छ । उसले ८ खेलबाट शतप्रतिशत नतिजासहित १६ अंक जोडेको छ । दक्षिण अफ्रिका र अष्ट्रेलियाले समान १४ तथा न्युजिल्यान्डले १० अंक जोड्दै सेमिफाइनल यात्रा तय गरेका हुन् ।
सहभागी १० टोलीमध्ये ४ टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
पहिलो सेमिफाइनल खेल नोभेम्बर १५ मा आयोजक भारत र न्युजिल्यान्डबीच हुनेछ । यो खेल मुम्बईको वाङ्खडे रंगशालामा हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनल नोभेम्बर १६ मा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच कोलकाताको इडेन गार्डेनमा हुनेछ । फाइनल भने गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा नोभेम्बर १९ मा हुनेछ ।
अब समूह चरणको अन्तिम खेल घरेलु टोली भारत र नेदरल्यान्ड्सबीच आइतबार हुनेछ ।
भारत समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेकाले उसका लागि महत्वपूर्ण छैन । तर च्याम्पियन्स ट्रफीमा स्थान बनाउनका लागि नेदरल्यान्ड्सका लागि भने महत्वपूर्ण छ ।