भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्न एकजुट हुन आग्रह गरेका छन् । शुक्रवार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर उनले विकासशील देशका नेताहरूलाई यस्तो आग्रह गरेका हुन् ।
‘यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ’, विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उनले भने।
गत सेप्टेम्बर २० मा शीर्ष विश्व अर्थतन्त्रहरूको समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो ।
सेप्टेम्बरको बैठकमा नयाँ दिल्लीले कूटनीतिक सफलता हासिल गरेको र यसमा अफ्रिकी सङ्घलाई एउटा सदस्यका रूपमा जोडिएको दाबी गरेको थियो ।
आफूलाई ग्लोबल साउथको नेताका रूपमा हेर्ने भारतले यी मुलुकहरूका लागि विश्वले महत्त्वपूर्ण मुद्दाहरूमा प्रगति गर्नुपर्ने बताएको छ ।
‘हामी एक सयभन्दा बढी मुलुक भए पनि प्राथमिकता उस्तै छ’, संसाधन दक्षता, गरिवी न्यूनीकरण र खाद्य सुरक्षासहित विकासशील मुलुकहरूका लागि महत्त्वपूर्ण मुद्दामा जोड दिँदै मोदीले भने, ‘भ्वाइस अफ ग्लोबल साउथ २१औं शताब्दीको सबैभन्दा अनौठो प्लेटफर्ममध्येको एक हो, भौगोलिक दृष्टिकोणले विश्वव्यापी दक्षिण सधैं अस्तित्वमा छ तर यसले पहिलोपटक आफ्नै आवाज प्राप्त गरेको छ ।’