२१ असार २०८३, आइतबार

लोकदोहोरीका दुई प्रकाश : जुन गीत ल्याउँछन्, त्यही हिट

मंसिर १, २०८०
काठमाडौं
लोकदोहोरीका दुई प्रकाश : जुन गीत ल्याउँछन्, त्यही हिट

नेपाली लोकदोहोरी क्षेत्रमा दुई प्रकाशका प्रायः गीतले स्रोता दर्शकको माया पाउँदै आएका छन् । 

उनीहरूले जुन गीत ल्याउँछन् त्यही हिट हुन्छ भन्ने छाप स्रोता–दर्शकमा परिसकेको छ । गायक प्रकाश सपूत र प्रकाश दूतराजले आफ्ना सिर्जनामार्फत दर्शकमाझ उक्त छाप छाड्न सफल भएका हुन् । प्रायः अरूका गीत नगाउने र गीत ल्याउने हतार नगर्ने यी दुवै गायकका प्रायः सिर्जनाले स्रोता–दर्शकको निकै माया पाउँदै आएका छन् । 

प्रकाश सपूत

बागलुङमा जन्मिएका प्रकाश सपूत ‘बोल माया’ बोलको गीतबाट मास स्रोता दर्शकमाझ चिनिएका थिए । त्यसयता उनले ल्याएका सिर्जनाहरू निकै चर्चित बनिरहेका छन् । उनका धेरै गीत स्रोता दर्शकको जिब्रोमा झुन्डिएका छन् । 

‘गलबन्दी’, ‘बदला बरिलै’, ‘कुरा बुझ्न पर्च होस’, ‘पीर’, ‘सकम्बरी’, ‘जाले रुमाल फाट्यो’ जस्ता उनका गीतहरूले निकै लोभलाग्दो माया पाएका छन् । उनी अरूका गीतमा मोडलिङ समेत गर्दै आएका छन् । यद्यपि, ति गीतहरू केही चलेपनि धेरैको चर्चा खास्सै हुने गरेको पाइँदैन ।

यद्यपि, प्रकाशले आफ्नै अफिसियल युट्युबबाट ल्याउने सिर्जनाहरूले भने चर्चासँगै लोभलाग्दो भ्युज पाइरहेका हुन्छन् । अहिले पनि उनका गीत आउनेवित्तिकै छु्टटै खालको चर्चा हुने गरेको छ । छोटो समयमा करोड भ्युज पाउने गीतको रेकर्ड समेत प्रकाशले राखेका छन् । उनको ‘सकम्बरी’ बोलको गीतले सात दिनमै युट्युबमा करोड भ्युज पाएको थियो । विगतका गीतबाट जितेको विश्वासकै कारण स्रोता दर्शकहरू उनका गीतको व्यग्र प्रतीक्षामा हुने गरेका छन् ।

प्रकाशले आफूले ल्याउने गीतको भिडियोलाई कथानक शैलीको बनाउँछन्, जसका कारण पनि उनका गीत थप विशेष बन्छन् । आफ्ना सिर्जनाका कारण सञ्चारमाध्यममा राम्रै छाउने प्रकाश बेलाबेलामा विवादमा समेत आउने गरेका छन् । गीत लेख्ने, संगीत भर्ने, अभिनयदेखि निर्देशन गर्नेसम्मको काम गर्ने बहुमुखी प्रतिभाका धनी प्रकाशलाई दर्शकले चलचित्रको पर्दामा समेत हेरिसकेका छन् । उनको अभिनय रहेको पहिलो चलचित्र ‘परदेशी २’ हिट भइसकेको छ । यतिबेला प्रकाश आफै पनि चलचित्र निर्माणको तयारीमा छन् । 

प्रकाश दूतराज 

पछिल्लो समय लोकदोहोरी क्षेत्रमा प्रकाश दूतराज पनि स्रोता दर्शकको प्रिय बनिरहेका छन् । उनले ल्याउने सिर्जनाहरूले पनि लोभलाग्दो माया पाउने गरेका छन् । 

म्याग्दीमा जन्मिएका प्रकाश दूतराज प्रायः ग्रामीण परिवेशमा रहेर सिर्जनाहरू ल्याउँदै आएका छन् । 

यतिबेला उनको गीत निकै चलिरहेको छ –

देउरालीमा धजा रिमै....,
मन उतै नजा, भनेकै मान्दैन्...

प्रकाशको यो गीत यति रुचाइयो कि ३ सातामै यसले युट्युबमा करोड भ्युज पार गर्यो । सञ्चारमाध्यममा कमै छाउने अन्तर्मुखी स्वभावका प्रकाशका यसअघिका गीतहरू पनि निकै रुचाइएका छन् । ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘मन भुल्छ’, ‘चोली मैलै भो, ‘देउरालीमा’, ‘जुन माया’ जस्ता उनका गीत चर्चितमध्येमा पर्छन् ।

एकपछि अर्को गीतबाट विश्वास जितेकै कारण प्रकाश दूतराजका गीतलाई लिएर पनि स्रोता–दर्शकमा अपेक्षा धेरै हुने गरेको छ । उनका गीतहरू भने विस्तारै हिट हुने गरेका छन् । प्रकाश दूतराज पनि गीत लेख्ने, संगीत भर्नेदेखि भिडियोमा अभिनय समेत गर्दै आएका छन् ।

उनी पनि आफ्ना गीतमा आफैले अभिनय गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्