१९ असार २०८३, शुक्रबार

सरकारले केबलकारलाई प्रवर्द्धन गर्नुपर्छ, यसले आन्तरिक विद्युत् खपत बढाउँछ : कुलमान घिसिङ

मंसिर २, २०८०
बुटवल
सरकारले केबलकारलाई प्रवर्द्धन गर्नुपर्छ, यसले आन्तरिक विद्युत् खपत बढाउँछ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा केबलकारहरू अझ धेरै संख्यामा निर्माण गरी पहाडी र हिमाली क्षेत्रमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । 

हालसम्म नेपालमा केबलकार पर्यटकलाई यात्रा गराउने उद्देश्यले मात्र बनाइएको भन्दै उनले नेपाल जस्तो पहाड र हिमालको भूबनोट भएको मुलुकमा केबलकारलाई सडकको विकल्पमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने बताएका हुन् । ​​

शनिवार बुटवल र पाल्पा जोड्ने लुम्बिनी केबलकारको अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा केबलकारहरू सञ्चालन हुने संख्या बढ्दै जाँदा यसले आन्तरिक विद्युत् खपतसमेत बढाउने बताए ।

पहाडी क्षेत्रमा सडक बनाएर इन्धनबाट ढुवानी गर्नु धेरै महँगो पर्ने, व्यापार घाटा बृद्धि हुने र वातावरणसमेत प्रदूषित हुने भएकाले सरकारले केबलकारलाई प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।

घिसिङले केबलकारहरूले नेपालमा पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जनासँगै स्वच्छ उर्जा खपतमार्फत वातावरण संरक्षणमा पनि योगदान गरिरहेको बताए । ‘केबलकारले पर्यटनमा टेवासँगै वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान गरेको छ’, घिसिङले भने, ‘पहाडका चुनखानीहरूबाट सिमेन्ट उद्योगसम्म ढुवानी गर्न केबलकारहरू सबैभन्दा उपयुक्त विकल्प हुनसक्छ, त्यसतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्छ ।’

सो अवसरमा घिसिङले केबलकारको टप स्टेशनमा रहेको बुटवल–पाल्पा ३३ केभीए प्रशारण लाइनको समेत निरीक्षण गर्दै करेन्ट लागेर हुनसक्ने सम्भावित दुर्घटना रोक्न वसन्तपुरमा एउटा पोल थप्न निर्देशन दिए । घिसिङले कामाख्यादेवी मन्दिरको दर्शन र पूजाआजा समेत गरे ।

केबलकारका स्टेसन म्यानेजर डीएन कायस्थ सैंजूले स्थानीयसहित आईएमई ग्रुपको कुल ५ अर्ब लागतमा बनेको लुम्बिनी केबलकारले प्रति महिना ६ लाख रुपैयाँ महसुल बराबरको विद्युत् खपत गरिरहेको बताए ।

केबलकारले स्थानीयलाई प्राथमिकता दिई करिब सय जनालाई रोजगारी दिएको र प्रत्येक टिकट दरको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई सेवा शुल्क बापत बुझाउँदै आएको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्