
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका निम्ति आज (आइतबार) भारत र अस्ट्रेलिया भिड्दै छन् । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा २ बजे दुई देशबीच प्रतिस्पर्धा हुनेछ ।
गत बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको थियो । भारत जारी विश्वकपमा हालसम्म अपराजित टोली हो ।
यसैगरी बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले भारतसँगको भिडन्त पक्का गरेको थियो ।
दुई टिम २० वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा भिड्न लागेका हुन् । सन् २००३ मा अस्ट्रेलियाले नै फाइनलमा भारतलाई हराएर उपाधि जितेको थियो । भारत २००३ को हारको बदला लिने तयारीसाथ मैदानमा उत्रनेछ ।
अस्ट्रेलिया प्रतियोगिताको सर्वाधिक उपाधि विजेता हो । उसले हालसम्म ५ पटक विश्वकप जितेको छ । अस्ट्रेलियाले सबैभन्दा धेरै १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको थियो ।
भारतले यसअघि दुईपटक विश्वकप जितेको छ । भारतसँग विश्वकप जित्ने तेस्रो अवसर छ ।
भारतले सन् २०११ मा फाइनलमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । पहिलोपटक सन् १९८३ मा भारतले विश्वकप जितेको थियो ।
तर, फाइनलमा अस्ट्रेलियालाई हराउन सहज भने हुनेछैन । अस्ट्रेलिया आठौंपटक फाइनलमा पुगेको हो । उसले पाँचपटक त उपाधि नै जितेको छ । भारत भने चौथोपटक फाइनल खेल्दै छ ।
भारतले जारी विश्वकपमा सबै १० खेल जितेको छ भने अस्ट्रेलियाले १० मध्ये आठ जितेको छ ।
अस्ट्रेलियाविरुद्ध भारतको रेकर्ड पनि उत्साहजनक छैन । दुई टिम हालसम्म १५० एकदिवसीय खेल खेलिसकेका छन् । जसमध्ये ८३ खेल अस्ट्रेलिया र ५७ भारतले जितेको छ ।
विश्वकपमा दुई टिमबीच १३ खेल भएका छन् । जसमध्ये अस्ट्रेलियाले आठ र भारतले पाँच खेल मात्रै जितेको छ ।
घरेलु मैदानमा भने भारतले कडा टक्कर दिने गरेको छ । भारतमा खेलिएका ७१ एकदिवसीय खेलमा भारतले ३३ खेल जितेको छ । यही वर्ष खेलिएका ७ मध्ये भारतले चार खेल जितेको छ ।