काठमाडौं,२४ मंसिर– भ्रष्टाचार काण्डमा दक्षिण कोरियाका राष्ट्रपति पार्क गुन– हेमाथि महाभियोग प्रस्तावको पक्षमा मतदान भएको छ ।
यसभन्दा पहिला नै राष्ट्रपतिले आफू पद छोड्न तयार रहेको बताएकी छिन् ।
दक्षिण कोरियामा राष्ट्रपतिको विरोधमा सडकमा विरोध प्रदर्शन भइरहेको छ । अब राष्ट्रपतिको सम्पूर्ण अधिकार प्रधानमन्त्री ह्वाग क्यो–अहसँग जानेछन् ।
दक्षिण कोरियाको नेशनल एसेम्बलीको ५६ भोटको विरुद्धमा २३४ भोटबाट महाभियोगमा भोटिङ गरेका थिए । राष्ट्रपतिका सत्तापक्षले समेत महाभियोग प्रस्तावमा मतदान गरेका थिए ।
अहिले कोरियाका हजारौं जनता राष्ट्रपतिको राजीनामाको माग गरिरहेका छन् । राष्ट्रपतिमाथि उनका साथीलाई सहयोग गरेको आरोप छ ।
के हो विवाद ?
राष्ट्रपति पार्क र चोई सून पुराना साथी हुन् । सन् १९७४ मा राष्ट्रपति पार्क गुनकी आमालाई उत्तर कोरियाले आफ्नो विरुद्ध जासुसी गरेको आरोपमा मारिदिएको थियो । तर उत्तर कोरियाको लक्ष्य पार्कको पिताको हत्या गर्नु थियो । त्यतिबेला पार्क ११ वर्षकी मात्रै थिइन् । उनी त्यतिबेला युरोपमा पढाई गर्दै थिइन् । सन् १९७९ मा पार्कको पिताको हत्या भएको थियो ।
पार्कका पिता सेनाप्रमुख र राष्ट्रपति समेत भएका थिए । पार्कको निकटता त्यति नै बेलादेखि चोईसूनसँग भएको थियो । चोईका पिता धार्मिक गुरु थिए । र, उनैले पार्कलाई शिक्षादीक्षा दिएका थिए ।
मिडिया रिपोर्टका अनुसार पार्क चोईको कठपुतली जस्तै काम गरिरहेकी थिइन् । तर कयौंले पार्कमाथिको सनसनीपूर्ण खोज एक भ्रम मात्रै भनेका छन् ।
आधिकारिक जाँचमा चोईसूनमाथि कोरिया सरकारको नीतिलाई प्रभावित पारेको र गोप्य सूचना प्राप्त गरेको आरोप छ । चोईमाथि राष्ट्रपतिसँगको साथीसम्बन्धलाई फाइदा उठाउँदै कयौं निजी कम्पनीमाथि आफूलाई फाइदा हुनेगरी दबाब दिएको आरोप छ । साथै चोईले लाखौं डलर घूस लिएको समेत आरोप छ । यस काण्डमा राष्ट्रपति पार्कको पनि संलग्नता रहेको आरोप छ ।
पार्कमाथि चोइसँगको सम्बन्धमा अवैध तरिकाबाट वित्तीय लाभ उठाएको आरोप छ । राष्ट्रपति पार्कले आफूबाट गल्ती भएको भन्दै जनतासमक्ष रुदै क्षमा मागेकी थिइन् ।
पार्क विरुद्धमा नेशनल एसेम्बलीमा दुई तिहाई बहुमत आएकाले उनले पार्कले पद छोड्नु पर्ने बाध्यता रहन्छ । यस फैसलाको लागि सबैधानिक अदालतबाट नौजना न्यायाधीशको सहमति लिनु पर्नेछ ।
यसको लागि ६ महिनाको समय लाग्ने गर्छ । सबैधानिक अदालतका नौ न्यायाधीशको बहुमतले महाभियोगमाथिको मतदान सदर गरेमा राष्ट्रपति पार्कले पद छोड्नुपर्ने हुन्छ । दक्षिण कोरियाको इतिहासमा राष्ट्रपतिले महाभियोग प्रस्ताव सामना भएर पद छोड्नुपर्ने अवस्था यो पहिलोपटक हो । बीबीसी हिन्दी