
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले केही व्यक्तिहरूको समूहले आफूमाथि आक्रमणको प्रयास गरेको आरोप लगाएका छन् ।
मंगलवार बिहान साढे १० बजे सर्लाहीको बलराबाट सिमरा विमानस्थल जानेक्रममा सर्लाहीको धनकौल गाउँपालिकास्थित सेखौना भन्ने स्थानमा केही व्यक्तिहरूले आक्रमणको प्रयास गरेको उनको भनाइ छ ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहका छोरा मुन्ना भनिने सुधिर सिंहले बा १७ च ९६३२ नम्बरको गाडीबाट आफ्नो बा १५ च ११४३ नम्बरको स्कोर्पियोलाई ठक्कर दिएर गालीगलौज समेत गरेको आरोप उनले लगाए ।
'मेरो गाडीलाई ओभरटेक गर्दै ठक्कर दिएर आमाचकारी गालीगलौज र ज्यान लिने धम्की दिए,' सिंहले लोकान्तरसँग भने, 'म आफ्नो गाडीभित्रै बसिरहें । बरहथवाको डीएसपीलाई सुरक्षाका लागि फोन गर्दा नआएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेको थिएँ । '
तपाईंलाई तत्काल सुरक्षा हुन्छ भनेर गृहमन्त्रीले जवाफ दिएको केही समयपछि डीएसपी नेतृत्वको प्रहरी टोलीले आफूलाई रेस्क्यू गरेको उनले बताए ।
आफूले पाएको पीएसओ तिहार मनाउने भन्दै काठमाडौंमा रहेका बेला आक्रमणको प्रयास भएको सिंहको आरोप छ ।
हेर्नुहोस्, अमरेशको स्टाटस :
तर, सुधिर सिंहले भने अमरेशको आरोप खण्डन गरेका छन् ।
'अमरेश सिंह इमर्जेन्सी लाइट बालेर बीच सडकबाट गइरहेका थिए । साइड माग्दा पनि दिएनन् । त्यसपछि मैले ओभरटेक गरेको हो,' सुधिरले लोकान्तरसँग भने, 'न त मैले उनको गाडीलाई ठक्कर दिएको छु, न गालीगलौज नै, मैले केही गरेकै छैन । केही भएको पनि छैन ।'
अमरेश सिंहले स्कर्टिङ माग्नका लागि स्टन्ट गरेको आरोप उनले लगाए ।