
नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा माओवादी केन्द्रसँग एकता गर्न तयार भएको छ । लामो छलफलपछि नेसपाको सिंगो कमिटी एकताका लागि तयार भएको बताइएको छ ।
यसअघि एकताका लागि अध्यक्ष बाबुराम भट्टराईले आनाकानी गरेको बताइएपनि अन्तिम समयमा आएर तयार भएका हुन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले माओवादीसँग एकता गर्ने निर्णय महासचिव रमेशप्रसाद यादवले जानकारी दिए ।
जसअनुसार अध्यक्ष डा भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय भएको छ । यादवका अनुसार एकता समायोजन समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, महाचिव यादव र उपाध्यक्ष दुर्गा सोव रहनेछन् ।
समितिले माओवादीसँग थप वार्ता गरेर एकताबारे टुंगो लाग्ने बताइएको छ । यसअघि दुबै पार्टीको वार्ता समिति तहमा एकता समायोजन समिति बनाउने सहमति बनेपछि नेसपाले पार्टीमा छलफल चलाएको थियो ।