
प्यालेस्टिनी लडाकु समूह हमास पहिलो चरणमा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न सहमत भएको छ । बन्धकलाई घर फर्काउन ४ दिन युद्धविराम गर्न इजरायल र हमास दुवै तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्ने सम्झौता भएको छ। इजरायली मन्त्रिपरिषद् बैठकले बन्धक छाड्ने र युद्ध विराम गर्ने सम्झौताको प्रस्ताव स्वीकृत गरिसकेको बीबीसीले जनाएको छ ।
‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ । यो उद्देश्य पूरा गर्न पहिलो चरणको रूपरेखालाई आज सरकारले मन्जुरी दिएको छ,' प्रधानमन्त्री कार्यालयले भनेको छ, 'यसअनुसार ५० बन्धक (महिला र बच्चासमेत)चार दिनभित्र रिहा हुनेछन् । यसक्रममा लडाइ रोकिने छ ।’
हमासले पनि मानवीय सहायताका लागि युद्ध विराममा सहमति भएको जनाएको छ । हमासले विज्ञप्ति जारी गर्दै मानवीय आधारमा युद्धविरामका लागि सहमति भएको जनाएको छ । यो सम्झौताका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार र इजिप्टप्रति पनि हमासले आभार प्रकट गरेको छ ।