१२ साउन २०८३, मंगलबार

खाद्य व्यवस्थाले किन्न थाल्यो बाँकेमा किसानको धान

मंसिर ६, २०८०
काठमाडौं
खाद्य व्यवस्थाले किन्न थाल्यो बाँकेमा किसानको धान

खजुरा– बाँकेमा किसानले उत्पादन गरेको धान बुधवारदेखि खरिद प्रक्रिया शुरू भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले किसानले उत्पादन गरेको धान बुधवारदेखि खरिद गर्न शुरू गरेको हो । 

नेपालगञ्ज सडक डिभिजन कार्यालय नजिकै रहेको कम्पनीको प्राङ्गणमा धान बिक्री गर्न आएका पहिलो किसान बाँके जानकी गाउँपालिका वडा नं –५ का रुपबहादुर कार्कीलाई स्वागत गरेर धान खरिद शुरू गरिएको  लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । 

पालिकाको सिफारिस लिएर आएका किसानको धान परीक्षण गरेर एक जना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गर्न शुरू गरिएको छ । बुधवार दिनभर ६ जना किसानबाट जम्मा २३० क्विन्टल धान खरिद गरिएको छ । 

यस वर्ष नेपालगञ्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ । ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गर्न लागिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख लामिछानेले भने, ‘पालिकाको सिफारिस लिएर आउने कृषकलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर कृषकले दुःख पाउने अवस्था यो वर्ष हुने छैन ।’ गैरकृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचानका लागि पालिकाबाट सिफारिस अनिवार्य गरिएको छ । 

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार १९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार ३६२ कायम गरेकोले सोही मूल्यमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरेको छ । 

यस वर्ष तोकिएको ५१ हजार क्विन्टल धान खरिद नभएसम्म खरिद जारी राखिने लिमिटेड नेपालगञ्जले जनाएको छ । गत वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको कम्पनीले विभिन्न कारण र समस्याले गर्दा नौ हजार क्विन्टल मात्रै खरिद गर्न सकेको थियो ।

यस वर्ष किसानको सहजताका लागि १० देखि १५ जनासम्मलाई कुपन दिएर पालो पर्ने दिनमा बोलाउने व्यवस्था मिलाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्