
प्रहरीको कडा सुरक्षा घेरामा रहेका व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंले बिहीबारदेखि काठमाडौंमा जारी प्रदर्शन कायम रहने बताएका छन् ।
भक्तपुरको ठिमीस्थित निवासमा शुक्रवार बिहान ११ बजे पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले आफूहरूको आन्दोलन नरोकिने बताएका हुन् ।
प्रशासनले काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिए पनि प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् ।
‘हिजो प्रचण्डहरूलाई पनि आतंकवादी भनेर प्रदर्शन गर्नै रोकिएको थियो, आज हामीलाई रोक्न खोजिँदैछ । भुइँमान्छेको कुरा उठाउनेलाई आतंकवादीसरह व्यवहार गर्न खोजिँदैछ,’ प्रसाईंले भने, ‘मलाई मदन भण्डारी बनाउन खोजियो भने पनि नेपाली जनतालाई चेतना भर्दिएको छु ।’
प्रसाईंले आज आफ्नो घाँटीको अपरेसनका लागि डाक्टरले समय दिएको भए पनि आन्दोलनका कारण नजाने बताए । शुक्रवार ११ बजे हुने भनिएको प्रसाईंको आन्दोलन कहाँ हुने भन्ने अन्योल देखिएको छ ।