
भारतको उत्तराखण्डस्थित सुरुङमा फसेका ४१ मजदुरलाई निकाल्ने प्रयास मंगलवार पनि भइरहेको छ । १६ दिनदेखि फसेका उनीहरूलाई निकाल्न हरसम्भव प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उत्तरकाशीको सिल्कयारा सुरुङभित्र फसेका ४१ जना कामदारको उद्धारका लागि गरिएको अपरेसनको पछिल्लो अवस्थालाई भारतीय सरकारी एजेन्सी एएनआईले देखाएको छ । जसलाई ड्रोनले खिचिएको छ । जहाँ सुरक्षाकर्मीसहितको उद्धार टोली हरसम्भव प्रयास गरिरहेको देख्न सकिन्छ ।
उद्धार कार्यसँगै सुरुङभित्र अस्थायी मेडिकल सुविधा विस्तार गरिएको छ । फसेका कामदारलाई बाहिर निकालेपछि यही ठाउँमा स्वास्थ्य सुविधा दिइने बताइएको छ । कुनै पनि समस्या परेमा स्वास्थ्य संस्थाले ८ शय्याको व्यवस्था पनि गरिएको छ ।
यसैबीच, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्विट गर्दै सुरुङभित्र पाइप हाल्ने काम पूरा भएको भन्दै कामदारहरूको छिट्टै उद्धार गरिने जनाएका छन् ।
‘सुरुङभित्र पाइप हाल्ने काम पूरा भएको छ । सबै कामदारहरूलाई छिट्टै उद्धार गरिनेछ,’ उनले लेखेका छन् ।
निर्माणाधीन सुरुङ भत्किँदा ४१ मजदुर फसेका हुन् ।