२५ जेठ २०८३, सोमबार

कोशीको बजेटप्रति मन्त्रीको गुनासो– मुख्यमन्त्रीले हामीलाई गोठालो बनाए, दूध आफूले खाए

मंसिर १२, २०८०
विराटनगर
कोशीको बजेटप्रति मन्त्रीको गुनासो– मुख्यमन्त्रीले हामीलाई गोठालो बनाए, दूध आफूले खाए

कोशी प्रदेशमा बजेटको विषयलाई लिएर मुख्यमन्त्री र मन्त्रीहरूबीच सम्बन्ध चिसिएको छ । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन गरेर नयाँ बजेट ल्याएपछि मुख्यमन्त्री केदार कार्कीले एक्लौटी गरेको मन्त्रीहरूले आरोप लगाएका छन् । 

गत मंसिर ९ गते कोशीका मुख्यमन्त्री कार्कीले साढे ३६ अर्ब रुपैयाँभन्दा बढीको प्रतिस्थापन बजेट प्रदेशसभामा पेश गरेका थिए ।  यसअघि अध्यादेशबाट ल्याइएको बजेटमा ५० करोड रुपैयाँ थप गर्दै मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको बजेट ल्याएका हुन् । मन्त्रालयगत बजेट बनाउने जिम्मा भने मुख्यमन्त्री कार्कीले विना विभागीय मन्त्रीहरूलाई दिएका थिए । 

नेकपा (एकीकृत समाजवादी)का कमल जवेगुलाई भौतिक पूर्वाधार, नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेतीलाई सिचाइँ खानेपानी तथा कृषि मन्त्रालयको जिम्मा दिएका थिए । मुख्यमन्त्रीले सचिवलाई बोलाएर बजेटमा हाम्रा क्षेत्रका योजना कटौती गरेको यी दुई मन्त्रीको आरोप छ । 

मन्त्रीहरूले नै बनाएको बजेट मुख्यमन्त्रीले कुनै सल्लाह नै नगरी कटौती गरेपछि मन्त्रीहरू रुष्ट बनेका हुन् ।

‘मुख्यमन्त्रीले बजेट बनाउन लगाउनुभयो,’ एक मन्त्रीले भने ‘तर हाम्रो क्षेत्रको बजेट नै कटौती गर्नुभयो । हामीलाई मुख्यमन्त्रीले गोठालो बनाएर दूध जति सबै आफैँ खानुभयो ।’ 

आफ्नै क्षेत्रको बजेट कटौती गरेको देखेपछि विना विभागीय मन्त्रीबाट राजीनामा दिने सोचेको तर यसमा तत्काललाई पार्टीले रोकेको ती मन्त्रीले बताए ।

यसैगरी सत्ता गठबन्धन पनि मुख्यमन्त्री कार्कीसँग रुष्ट बनेको छ । मुख्यमन्त्रीले बजेटको प्राथमिकता नै थाहा नपाएको आरोप पूर्वमुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले बताए । बजेटको आइडिया नभएका मुख्यमन्त्रीले बढी हस्तक्षेप गर्न खोजेको उनले आरोप लगाए । ‘कुन योजना काट्नु पर्ने, कुन नपर्ने, कुनलाई प्राथमिकता दिनुपर्ने भन्ने नै मुख्यमन्त्रीलाई थाहा नभएपछि समस्या भएको हो,’ उनले भने । 

null

मापदण्ड नबनाइ बजेट प्रतिस्थापन गरेकाले विवाद आएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । मुख्यमन्त्रीले विधि र मापदण्ड नबनाइ जे–जे आउँछ गर्दै जान थालेको उनको आरोप छ । ‘यसले बजेट निर्माणको प्रक्रिया नै अस्तव्यस्त बनेको छ,’ उनले भने ।

यस्तै मुख्यमन्त्री कार्कीकै दल नेपाली कांग्रेसका सांसदहरूले समेत उनकाे कामप्रति विरोध जनाएका छन् । कांग्रेस सांसद खगेनसिंह हाङ्गामले मुख्यमन्त्रीले बजेटमाथि अन्धाधुन्ध डाडुपन्यु चलाएको आरोप लगाए । 

कांग्रेसका सांसद गोपाल तामाङले यसअघि अध्यादेशबाट आएको बजेटमा आफ्नो क्षेत्रमा आएको बजेटका १३ योजना काटिएको गुनासो गरे । कांग्रेसका अर्का सांसद गोविन्द गिरीले सांसदले छानेको एक करोड रुपैयाँ बराबरको योजना समावेश गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाएको भए पनि आफ्नो योजना खल्तीमा मात्र सीमित बनाएको गुनासो गरे । 

कांग्रेसकै सांसद प्रदीप सुनुवारले बजेटप्रति सांसदहरूले उठाएको गुनासो जायज भए पनि गोजीबाट निकालेर बजेट वितरण गर्ने प्रणाली अन्त्य हुनुपर्ने बताए । 

प्रतिस्थापन बजेटको आकार ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ छ । १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारदेखि स्वचालित तुइन सञ्चालनसम्मका योजना मुख्यमन्त्री कार्कीले ल्याएको प्रतिस्थापन बजेटका मुख्य विशेषता हुन् । तर, मुख्यमन्त्री कार्कीले ल्याएको उक्त बजेट धरातलीय यतार्थविपरीत भएको सांसदहरूको आरोप रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्