
‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथिको छलफल सकिएको छ ।
प्रदेशसभाको बैठकमा सोमबार र मङ्गलबार लगातार छलफल भएपछि आज छलफल सकिएको हो । विधेयकमाथिको छलफलमा प्रदेशसभाका ३१ जना सदस्यले भाग लिएका थिए ।
छलफलमा उठेका प्रश्न र जिज्ञासाका सम्बन्धमा मुख्यमन्त्री केदार कार्कीले जनताका लोकतान्त्रिक अधिकार प्राप्तिमा विनियोजन विधेयक फलदायी हुने बताए । उनले सङ्घीयतालाई बलियो बनाउन प्रदेश बलियो हुुनुपर्ने धारणा राख्दै सरकार १० वर्षमुनिका बालबालिकाको जीवन बचाउन निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले विगतमा आर्थिक दायित्व बोकिसकेका र योजनाको सम्झौता भइसकेका साना योजना विनियोजन विधेयकमा समावेश गरिएको जानकारी दिँदै रु २५ लाखभन्दा कमका योजना हटाएको बताए ।
जनताको घरसम्म बजेट पुर्याउने र नागरिकले अनुभूति गर्नसक्ने किसिमले विनियोजन विधेयक आएको जनाउँदै मुख्यमन्त्री कार्कीले बजेटमा प्राण र विचार दिएको दाबी गरे ।
मानव कल्याण र विकासलाई उच्च प्राथमिकता दिएको यो विनियोजन विधेकयमा कृषि, सिँचाइलाई पनि उत्तिकै महत्त्व दिएको प्रकाश पार्दै मुख्यमन्त्री कार्कीले बजेट मापदण्ड र प्रक्रिया पूरा गरेर ल्याएको बताए ।