
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट विस्थापित गरेपछिका अढाइ वर्षमा देशमा राजनीतिक अराजकता बढेको बताएका छन् । साथै अर्थतन्त्र ओरालो लागेको उनको दाबी छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धि यात्राको पहिलो सभालाई बैतडीको गोठालापानीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले आफूलाई सरकारबाट हटाएपछि मुलुक ओरालो बाटोमा लागेको दाबी गरेका हुन् ।
‘मैले सरकारको नेतृत्व छाडेपछि हाम्रो देश अझ ओरालो लागेको छ, अढाइ वर्षमा मुलुक राजनीति अस्थिरता र अराजकतामा फसेको छ । अर्थतन्त्र ओरालो लाग्यो, व्यापारी व्यवसायी हतोत्साही भए’ ओलीले भने ।
पहिचानका नाममा नेपाली जनतालाई विभाजित गर्न खोजिएको ओलीले बताए । ‘देशको बेहाल भएकोले जनतामा अन्योल भएको मौका छोपेर प्रतिगामीले दुलाबाट टाउको निकालेर सल्बलाउन थालेका छन्’ ओलीले भने, ‘राजतन्त्र इतिहास भइसकेपछि अहिले आएर सालिकमा महाराजाधिराज लेख्ने काम भइरहेको छ । गणतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको छ ।’
देशमा बेहाल भएकोले प्रतिगामीले टाउको उठाउन लागेको उनले बताए ।