२४ जेठ २०८३, आइतबार

‘बुलबुल’ फ्रेम्ड निर्देशकले अमेरिकामा ‘भूठान’बनाउने, मुख्य भूमिकामा हरिवंश आचार्य

मंसिर १७, २०८०
काठमाडौं
‘बुलबुल’ फ्रेम्ड निर्देशकले अमेरिकामा ‘भूठान’बनाउने, मुख्य भूमिकामा हरिवंश आचार्य

सन् २०१९ मा पहिलो चलचित्र ‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले नयाँ चलचित्रको पोस्टर र नाम सार्वजनिक गरेका छन् । 

नेपालीमा भूठान र अङ्ग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा वरिष्ठ कलाकार हरिवंश आचार्यका साथै दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्दलामा, रिचा घिमिरे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी तथा कौशिला खनाल कर्माचार्य अनुबन्धित भएका छन् । यो चलचित्रमा हलिउडका एक नामुद कलाकारलाई पनि अनुबन्ध गर्न लागिएको जनाइएको छ । 

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको यस चलचित्र भूठान (द वल्र्डस् ह्यापिएस्ट म्यान्) सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङ्गमा समेत छानिएको थियो । 

निर्माता अविरल थापाले यो चलचित्र विश्व बजारको लागि बनाउन लागिएको र अन्तर्राष्ट्रिय चलचित्रको भिडमा अलग्गै पहिचान कायम गर्नेमा आफू विश्वस्त रहेको बताए ।  कार्यकारी निर्माता एल. एन अधिकारी र अर्का निर्माता अमिताभ जोशीका अनुसार विश्वम्भरका सम्पूर्ण प्लेटफर्महरूमा र सिनेमा हलहरुमा हलिउडकै वितरकको संग्लग्नतामा यस चलचित्रलाई प्रदर्शन गरिने बताए । चलचित्रकी कार्यकारी निर्माता कौशिला खनालले भुटानी शरणार्थीहरूको कथा र संवेदनालाई लिएर विगत लामो समयदेखि अत्यन्तै मिहिन ढंगबाट लेखक एवं निर्देशक पौडेलले काम गरिरहेको देखेर यसमा जोडिएको बताइन् । यस चलचित्रका लाइन प्रोड्युसर दीपक गजमेर हाम्रो कथा अहिलेसम्म यति गहिराइबाट नलेखिएको र नभनिएकोले यो चलचित्रले आफ्नो सिंगो समुदायको आवाजलाई विश्व बजारमा बुलन्द गर्नेमा आफू विश्वस्त रहेको बताए । 

यस चलचित्रमा सन् २०१७ मा अस्कर अवार्ड जितेका निर्माता स्टार झाउ पनि एसोसियट निर्माताकोे रुपमा जोडिएका छन् । यस चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र चलचित्र बुलबुलकै निर्माता अविरल थापा रहनेछन् । साथै कार्यकारी निर्मातामा एलएन अधिकारी र कौशिला खनाल कर्माचार्य छन् भने शैलेस मैनाली, दीपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीवभार श्रेष्ठ, नवराज पराजुलीको सह निर्माण रहनेछ । चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने यस चलचित्र नेपाली एवं अंग्रेजी भाषामा निर्माण हुनेछ । चलचित्रको छायाँकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आइसक्ने बताइएको छ । 

चलचित्रमा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ्ग, उज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल, समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गर्नेछन् । 

यस चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्ने छ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्