२३ असार २०८३, मंगलबार

पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बर्दिबासमा

मंसिर १९, २०८०
महोत्तरी
पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बर्दिबासमा
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको महोत्तरीको बर्दिबास आइपुगेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज बिहान बर्दिबास पुगेका हुन् । 

बर्दिबास–४ माइस्थानमा दलको तीन महिने रूपान्तरण अभियानको मधेश प्रदेश समीक्षा बैठकमा सहभागी हुन प्रचण्ड यहाँ आएको माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज लिलामणि पोखरेलले बताए । 

उनले बैठकमा मधेश प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य, जिल्ला इञ्चार्ज र रूपान्तरण अभियानका जिल्ला संयोजकबीच अभियानारे समीक्षा भइरहेको जानकारी दिए । 

प्रदेशका आठवटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इञ्चार्जबाट जानकारी लिएपछि अध्यक्ष दाहालले थप निर्देशन दिने छन् । 

उनी आजै दिउँसो जिल्लाको गौशाला–५ स्थित बहुद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् । 

प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरू, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुनेछन् । प्रधानमन्त्री दाहाल आजै काठमाडौँ फर्किने छन् ।

salt training

कमेन्ट गर्नुहोस्