
रुकुम पश्चिम हत्याकाण्डमा दोषी ठहर गर्दै वडाध्यक्ष डम्बरबहादुर मल्ललाई पनि जन्मकैदको सजाय सुनाइएको छ ।
मंगलवार रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ र बाहिरका एक गरी २४ जनालाई जन्मकैदको फैसला सुनाउँदा त्यहाँ चौरजहारी नगरपालिका–८ सोतीका वडाध्यक्ष मल्ल पनि परेका हुन् ।
मल्ल सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष थिए ।
अदालतले ८ जनालाई भने सफाइ दिएको सूचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिए ।
सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको थियो ।
२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए ।
त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए ।
सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो ।
अदालतले नवराजकी प्रेमिका र उनकी आमालाई जातीय छुवाछुतमा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
न्यायाधीश खड्गबहादुर केसीको इजलासले यस्तो फैसला गरेको हो ।