
नेको इन्स्योरेन्स लिमिटेडले जाजरकोटका भूकम्प पीडितलाई बीमाबापतको दाबी रकम भुक्तानी गरेको छ ।
यही मंसिर १६ गते शनिवार कम्पनीका प्रतिनिधिहरूले घटनास्थलमा नै पुगेर दैलेख र जाजरकोटका सम्बन्धित पीडितहरूलाई रकम भुक्तानी गरेका हुन् ।
आगामी दिनमा पनि दाबी रकम यथा शीघ्र भुक्तानी दिने कम्पनीले प्रतिबद्धता जनाएको छ ।
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीको प्रमुख आतिथ्य, भेरी नगरपालिकाकी उपप्रमुख मीना जैसीको आतिथ्य एवं जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीको उपस्थितिमा आयोजित कार्यक्रममा जाजरकोटका यस कम्पनीका बिमित भूकम्प पीडितहरूलाई दाबी रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमका वक्ताहरूले नेको इन्स्योरेन्सले समय मै दाबी भुक्तानी गरेकोमा आभार प्रकट गरेका थिए ।
उक्त कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवं समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।
कार्यक्रम नेको इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख रमेशराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेको इन्स्योरेन्सले विगत २८ वर्षदेखि देशको बीमा क्षेत्रमा सेवा पुर्याउँदै आएको छ ।