१० साउन २०८३, आइतबार

प्राधिकरणलाई अर्थ समितिको निर्देशनः एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिनू

मंसिर २०, २०८०
काठमाडौं
प्राधिकरणलाई अर्थ समितिको निर्देशनः एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिनू

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिले बुधवार यस विषयमा प्राधिकरणलाई छलफलका लागि बोलाएर जानकारी लिएको थियो । प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

‘बुधवारको छलफलका क्रममा उठेका विषय र एनसेलको स्वामित्व खरिदबिक्रीका सन्दर्भमा विस्तृत अध्ययनसहित जानकारी पेश गर्न निर्देशन दिने निर्णय भएको छ,’ सभापति चालिसेले भने ।

 समितिको बुधवारको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे जानकारी गराउने पत्र प्राप्त भएको उपलब्ध भएको थियो । यो कारोबार शङ्कास्पद देखिएकाले प्राधिकरणले सुक्ष्मरूपमा अध्ययन थालिसकेको पनि अध्यक्ष खनालको भनाइ छ ।

‘शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले एनसेललाई यही मङ्सिर १५ गते पत्राचार गरेकामा मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ । उसले अहिले शेयर खरिदबिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानूनी प्रावधान भित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जाकारी दिने तयारी भइरहेको बताएको छ,’ अध्यक्ष खनालले अर्थ समितिको बैठकमा भनेका छन् ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रवार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानूनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि प्रश्न उठिरहेका छन् । सार्वजनिकस्तरबाट चर्को विरोधसमेत भएपछि संसदीय समितिहरूले पनि यसमा चासो दिएका हुन् । 

बुधवार नै सार्वजनिक लेखा समितिमा पनि एनसेल शेयर खरिदबिक्री प्रकरणबारे छलफल भएको छ । –रासस– 

salt training

कमेन्ट गर्नुहोस्