०५ साउन २०८३, मंगलबार

डिएफसी मोरङ किराँत गोल्डकपको फाइनलमा प्रवेश

मंसिर २०, २०८०
मोरङ
डिएफसी मोरङ किराँत गोल्डकपको फाइनलमा प्रवेश

पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनलमा आयोजकलाई पराजित गर्दै डाँगीहाट फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ ।
    
फिदिमको फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा आयोजक पाँचथर फुटबल क्लबलाई ट्राइब्रेकरमा ४–१ गोलअन्तरले पराजित गर्दै मोरङ उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुवै फुटबल टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा मोरङका चार खेलाडीले गोल गर्दा आयोजकका एक खेलाडीले मात्रै गोल गर्नसके । 

मोरङका लागि उमेश कार्की, उमेश राई, सञ्जय धिमाल र अभिषेक लिम्बूले गोल गरे । तर आयोजक पाँचथर क्लबका रोशन आङदेम्बेको प्रहार गोल पोष्टबाट बाहिरिएको थियो भने प्रकाश धमलाको प्रहार मोरङका गोलरक्षक प्रमिजय गच्छदारले रोक्न सफल भएका थिए । आयोजक टिमका अनुकेश शर्माको प्रहार भने गोलमा परिणत भएको थियो । 

आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) डिएफसी मोरङका गोलरक्षक प्रमिजय गच्छदार घोषित हुँदै रु पाँच हजार रकम र पदक प्राप्त गरे । भोलि हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब झापा र कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङबीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए । 

प्रतियोगिताको फाइनल खेल मङ्सिर २३ गते हुनेछ । प्रतियोगिताको विजेताले रु चार लाख चार हजार चार सय ४४ र उपविजेताले रु दुई लाख दुई हजार दुई सय २२ सहित ट्रफी हात पार्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्