
इंग्लिस प्रिमियर लिग फूटबलमा साविक विजेता म्यानचेस्टर सिटी एस्टन भिल्लासँग स्तब्ध बनेको छ ।
बुधवार राति भएको खेलका घरेलु टोली सिटी भिल्लासँग १–० गोल अन्तरले स्तब्ध बनेको हो ।
भिल्लाका लागि ७४ औँ मिनेटमा लियोन बेइलीले गरेको गोल नै निर्णायक बन्यो ।
यस जीतसँगै भिल्ला लिगको तेस्रो स्थानमा उक्लिएको छ । सिटी भने चौथोमा झरेको छ । लिगको शीर्ष स्थानमा आर्सनल र दोस्रो स्थानमा लिभरपुल छन् ।
यस्तै बुधवार राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पराजित गरेको छ ।
ओल्ड ट्राफर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले चेल्सीलाई २–१ गोल अन्तरले हराएको हो ।
स्कट म्याकटोमिनेले खेलको १९ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर कोलो पाल्मरले खेलको ४५ औँ मिनेटमा गोल गरेर बराबरीको स्थितिमा ल्याए ।
यद्यपि म्याकटोमिनेले ६९ औँ मिनेटमा गोल गरेपछि युनाइटेडले जीत हात पारेको हो ।
यस जीतले युनाइटेड लिगको छैटौं स्थानमा उक्लिएको छ । पराजित चेल्सी १० औँ स्थानमा छ ।